काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन अन्तिम चरणमा पुगेको बताएका छन् ।
चलचित्र विकास बोर्डको २५औँ वार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त फ्रेमवर्क चाँडै मन्त्रिपरिषद्बाट पारित भई कार्यान्वयनमा जाने जानकारी दिए ।
मन्त्री गुरुङले डिजिटल नेपाल नीतिअन्तर्गत पर्यटन, शिक्षा, सुशासन, विपद् व्यवस्थापनलगायत आठ क्षेत्रमा प्रविधिको प्रयोग विस्तार गर्न सरकार तयारीमा रहेको उल्लेख गरे ।
उनले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावकारी प्रयोगका लागि पाँचौँ पुस्ताको दूरसञ्चार प्रविधि (फाइभजी) आवश्यक भएको उल्लेख गर्दै यही वर्षको माघ महिनाभित्र काठमाडौं उपत्यका र पोखरा उपत्यकाबाट फाइभजी परीक्षण सुरु हुने जानकारी दिए ।
‘हामी डिजिटल नेपालको फ्रेमवर्क बनाउँदैछौं । त्यो नीति अब क्याबिनेटबाट पास भएर कार्यान्वयनमा आउँछ । हामी त्यसको अन्तिम ठाउँमा छौँ । अब टुरिज्म, एजुकेसन, गभर्नेन्स तथा डिजास्टर म्यानेजमेन्ट लगायत आठ वटा क्षेत्रमा त्यसले काम गर्छ,’ मन्त्री गुरुङले भने ।
उनका अनुसार सरकारले आगामी वर्षभित्र फाइभजी विस्तार सम्पन्न गर्ने लक्ष्य राखेको छ । साथै सात वटै प्रदेशमा आइटी डाटा सेन्टर र एआई केन्द्र स्थापना गर्ने तयारीसमेत भइरहेको बताए ।
यसैगरी, मन्त्री गुरुङले हाल बैंकिङ ठगीका मुद्दा बढिरहेको भन्दै यसको नियन्त्रणका लागि आवश्यक कानुन निर्माण प्रक्रिया अघि बढिरहेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया