मिर्गौला तस्करीका मास्टरमाइन्ड भारतबाट पक्राउ, करिब एक सय जनाको मिर्गौला निकालिएको अनुमान

लोकपथ
2.7k
Shares

काठमाडौं । नेपालबाट भारत पुराएर मिर्गौला तस्करी गर्ने गिरोहका मास्टरमाइन्ड पक्राउ परेका छन् । भारतको दिल्लीमा बसेर तस्करीको र्‍याकेट चलाउने श्यामकृष्ण भण्डारीलाई प्रहरीले पक्राउ गरी नेपाल ल्याएको हो ।

मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले भण्डारीलाई दिल्लीबाटै पक्राउ गरी नेपाल ल्याएको हो । भण्डारीसँगै उनका मुख्य सहयोगी सुजन भारतीसमेत भारतबाटै पक्राउ परेका छन् ।

गत साउन २१ गते सिन्धुलीको दुधौली नगरपालिका–१ का खिलबहादुर भुजेलले ब्युरोमा जाहेरी दिएपछि सुरु भएको अनुसन्धानले भारतको दिल्लीसम्म पुगेर मुख्य अभियुक्तलाई समेत पक्राउ गर्न सफल भएको हो ।

यही गिरोहको फन्दामा परेर भारत पुराएर मिर्गौला निकालिएका ५ जनाले यो गिरोहविरुद्ध जाहेरी दर्ता गराएका थिए अनुसन्धानबाट मुख्य आरोपी भारतको दिल्लीमा रहेको थाहा पाएपछि ब्युरोका एसपी रुगम कुँवरको नेतृत्वमा प्रहरी टोली दिल्लीमै पुगेर अनुसन्धान सुरु गरेको थियो ।

एसपी रुगम कुँवर ।

यसअघि नै नेपालमा तीन जना पक्राउ परेकामा गत शुक्रबार दुई जना भारतबाट पक्राउ परेका थिए । त्यसपछि नेपालबाट नै आइतबारसम्म थप दुई जना पक्राउ परेपछि यो प्रकरणमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या ७ पुगेको छ ।

ब्युरोका अनुसार हालसम्म पक्राउ परेकामा काभ्रे पाँचखाल १० का ३५ वर्षीय कुमार भन्ने राजकुमार परियार, नुवाकोट बेलकोटगढी ९ का २४ वर्षीय समीर नेपाली र बेलकोटगढी ४ का ४७ वर्षीय राकेश नेपाली, तत्काल ठेगाना नखुलेका सविन पन्त र राजकुमार तामाङलाई नेपालबाटै पक्राउ गरिएको हो ।

यता भारतमै बसेर सेटिङ र कारोबारमा संलग्न सुनकोसी गाउँपालिका ७ सिन्धुपाल्चोकका श्यामकृष्ण भण्डारी र इन्द्रावती गाउँपालिका २ सिन्धुपाल्चोकका सुजन भारतीलाई भारतबाट पक्राउ गरी नेपाल ल्याइएको हो । भण्डारी यो गिरोहको मुख्य सदस्य हुन् भने भारती भण्डारीको सहयोगी हुन् । भण्डारीले भारतको दिल्लीस्थित लाजपत नगरमा होटेलका कोठामा भाडामा लिई यो धन्दा चलाउँदै आएका थिए ।

आइतबार ब्युरोले पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार श्यामकृष्ण भण्डारीको समूहले एक सय जना भन्दा बढीको मिर्गौला तस्करी गरेको अनुमान गरिएको छ । नेपालबाट भारतमा पुराएर मिर्गौला तस्करी गर्ने मुख्य गिरोह नै यही सदस्य रहेको बताइएको छ ।

प्रति व्यक्ति ६ लाख भारु लिन्थे गिरोहले

मिर्गौला तस्करी समूहका मुख्य सदस्य मानिएका श्यामकृष्ण भण्डारीले प्रहरीलाई दिएको जानकारी अनुसार एक जनाको मिर्गौला निकालेर अर्को व्यक्तिमा प्रत्यारोपण गराउँदा गिरोहले ६ लाख भारतीय रुपैयाँ पाउने गरेका थिए । उक्त ६ लाख भारतीय रुपैयाँमध्ये श्यामको समूहले ६ लाख नेपाली रुपैयाँ भने मिर्गौला झिक्ने व्यक्तिहरूलाई दिने भनेर बताउने गरेका थिए । तर मिर्गौला झिकेका व्यक्तिहरूले भने उक्त रकम नपाएको बताउने गरेका छन् ।

आइतबारको पत्रकार सम्मेलन लगत्तै लोकपथसँगको अनौपचारिक कुराकानीमा पक्राउ परेका भण्डारीले आफूले हालसम्म १५ जनाको मिर्गौला निकालेर तेस्रो व्यक्तिमा प्रत्यारोपण गर्न सहजीकरण गरेको बयान दिएका छन् । त्यसबापत आफूले प्रति व्यक्ति ६ लाख भारतीय रुपैयाँ अर्थात् ९ लाख ६० हजार नेपाली रुपैयाँ पाउने र आफूले ६ लाख नेपाली रुपैयाँ मिर्गौला झिक्ने व्यक्तिलाई दिने गरेको बताए ।

हालसम्म मिर्गौला झिकिएका सबै व्यक्तिलाई पैसा दिएको दाबी गर्दै आफूले हालसम्म करिब १५ लाख रुपैयाँ कमाएको बताए ।

नेपालमा गिरोहका सदस्य समातिएपछि रोकियो ९ जनाको मिर्गौला निकाल्ने योजना
गत साउन २१ गते सिन्धुलीको दुधौली नगरपालिका–१ का खिलबहादुर भुजेलले ब्युरोमा जाहेरी दिई अनुसन्धान सुरु भएपछि नेपालमा कुमार भन्ने राजकुमार परियार, समीर नेपाली र राकेश नेपाली पक्राउ परे लगत्तै भारतमा मिर्गौला झिक्न ठिक्क पारिएका ९ जनालाई फिर्ता पठाइएको पाइएको छ ।

नेपालमा पक्राउ परेका व्यक्तिहरूले पोल बयान गरेको थाहा पाएपछि गिरोहका मुख्य सदस्य श्यामकृष्ण भण्डारीको समूहले तस्करी गर्न ठिक्क पारेका ९ जनालाई नेपाल नै फिर्ता पठाएको पाइएको छ । आइतबार लोकपथसँग भण्डारीले भने, ‘बाँकी ९ जनाको पनि मिर्गौला झिक्ने तयारी हुँदै थियो, यता मान्छे पक्राउ परेपछि हामीले उनीहरूलाई फिर्ता पठायौँ ।’

दिल्लीबाट भागेर पन्जाब प्रान्तमा पुगे भण्डारी
नेपालमा तीन जना सदस्य पक्राउ परे लगत्तै मिर्गौला तस्करीको गिरोहबारे प्रहरीले जानकारी पायो । त्यस लगत्तै उनीहरूको खोजीमा लागेको प्रहरी नेपालबाट भारत जाँदै छन् भन्ने कुरा श्यामकृष्णले थाहा पाए । दिल्लीको लाजपत नगरमा बस्दै आएका भण्डारी र उनका सहयोगी सुजन भारती दिल्लीबाट भागेर पन्जाब प्राप्तमा पुगिसकेका थिए ।

यता श्यामकृष्णलाई पक्राउ गर्न भन्दै दिल्ली पुगेका प्रहरी टोलीले दिल्ली प्रहरीको सहयोगमा श्यामकृष्णलाई पन्जाब प्रान्तबाटै पक्राउ गरी नेपाल ल्याएको हो । यद्यपि प्रहरीले भने गड्डाचौकी नाकाबाट पक्राउ गरिएको दाबी गरेको छ ।

आधार कार्ड नै बनाएर तस्करीमा संलग्न
ब्युरोले भारतबाटै पक्राउ गरी ल्याएका आरोपित श्यामकृष्ण भण्डारीले भारतकै आधार कार्डसमेत बनाएको पाइएको छ । उनको साथबाट श्यामकृष्ण भडारीको नामबाट जारी भएको आधार कार्ड नै बरामद भएको छ ।

पक्राउ परेका भण्डारीले आफूले २ वर्षदेखि यो काम गरेको बताएका छन् । पहिले आफू पनि मिर्गौला बेच्न भारत गएको तर आफ्नो नमिलेको कारण आफूले यही काम गर्न थालेको बताएका छन् । यस सम्बन्धमा भने प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेका विरुद्ध संगठित अपराधमा अनुसन्धान हुँदै

मानव अंग तस्करीको आरोपमा पक्राउ परेकाहरूमाथि संगठित अपराधमा अनुसन्धान सुरु भएको छ । यसअघि नै चार जनाको जाहेरीमा काठमाडौं जिल्ला अदालतमा मानव बेचबिखनको अभियोगमा मुद्दा चलिरहेकामा अब पक्राउ परेका सातै जनामाथि संगठित अपराधमा समेत अनुसन्धान र अभियोजन हुने ब्युरोले जनाएको छ ।

ब्युरोका प्रमुख एसएसपी कृष्ण पंगेनीका अनुसारअन्तर देशीय अपराध र तह तह बनाएर अपराध गरेको कारण उनीहरूमाथि संगठित अपराधमा समेत अनुसन्धान हुन लागेको हो ।

यो पनि …

५० जनाभन्दा बढीको मिर्गौला तस्करी गर्ने ‘किड्नी किङ’ पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?