पर्यटन प्रवर्द्धन र अर्थतन्त्र विकासमा सरकार प्रतिबद्ध छ : अर्थमन्त्री पौडेल

लोकपथ
28
Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानीको वातावरण सिर्जना गर्नतर्फ सरकारले काम गरिरहेको बताएका छन् । 

ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को ४७औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उपप्रधानमन्त्री पौडेलले सरकार निजी क्षेत्रको आत्मविश्वास बढाउने र मुलुकमा लगानीको वातावरण सिर्जना गर्ने दिशामा काम गरिरहेको बताए ।

उपप्रधानमन्त्री पौडेलले पर्यटन प्रवर्द्धन र राष्ट्रिय अर्थतन्त्रको विकासमा सरकार प्रतिबद्ध रहेको पनि जानकारी गराए । उनले आफूले सरकार सम्हाल्दा अर्थतन्त्रमा सम्पूर्ण सूचकहरु नकारात्मक भएको उल्लेख गर्दै भने, ‘अहिले अर्थतन्त्रका सबै सूचकहरुमा सकारात्मक परिवर्तन आएको छ । हिजो हामीले सरकार सम्हाल्दा अर्थतन्त्रका सूचकहरु नकारात्मक थिए ।’ 

त्यसैगरी उपप्रधानमन्त्री पौडेलले ‘भ्याट’ छुट दिन सक्ने अवस्थामा सरकार नरहेको स्पष्ट पारे । उनले भने, ‘राजस्वबाट साधारण खर्च धान्न नै अहिले मुस्किल छ । अहिले भ्याट छुटभन्दा पनि व्यवसाय प्रवर्द्धनका योजना कार्यक्रमहरु ल्याउनुहोस् । सरकार सहजीकरण गर्न तयार छ ।’

उनले राजनीतिक स्थायित्व सुनिश्चित गर्दै मुलुक स्थिरताको बाटोमा अघि बढेको उल्लेख गर्दै उनले थपे, ‘अहिलेको सरकार बलियो र स्थिर छ । यही सरकार २०८४ को निर्वाचनसम्म अघि बढ्छ र यसले नीतिगत स्थिरता दिन्छ । सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न विशेष ध्यान दिएका छौँ ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?