काठमाडौं । सशस्त्र प्रहरीको नम्बर ३ गण मोरङका गणपति राजेश घिमिरेको कार्यशैलीलाई लिएर सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा उजुरी परेको छ ।
उनीमाथि सीमा क्षेत्रका बारेमा बेवास्ता गर्ने गरेको, कार्यालयको काममा ध्यान नदिएको, बिहानैदेखि रक्सीको नशामा हुने गरेको, कर्मचारीको कल्याणकारी कार्य र समस्यामा ध्यान नदिने गरेको, घुमुवा मार्फत असुली गर्ने गरेको, रातको समयमा तस्करी गराउने गरेको, संगठनको नीतिविपरीत अधिक कर्मचारी बिदामा छाड्ने गरेको, तस्करी रोक्नेभन्दा मिलेमतोमा तस्करी गर्ने गरेको भन्दै सशस्त्र मुख्यालयमा उजुरी परेको हो । उनीविरुद्ध परेको उजुरीलाई लिएर सशस्त्र मुख्यालयले आन्तरिक छानबिन अघि बढाएको छ ।
फागुन पहिलो सातादेखि नम्बर ३ गणको कमान्ड सम्हालेका घिमिरेले पदीय दायित्वअन्तर्गतको जिम्मेवारी बहन नगर्दा राजश्व संकलन पनि कम हुँदै गएको छ । यस्तै, सामान बरामदी पनि शून्य प्रायः रहेको छ । बर्दीको आडमा तस्करीलाई प्रेरित गरेको भन्दै उनको आलोचना हुन थालेको छ ।
केही समयअघि दरैया नाकाबाट ठूलो मात्रामा कपडा तस्करीसमेत भएको थियो ।
अहिले मोरङको रानी, बरडंगा, सोराभाग, धनापट्टि, रंगेली, तारिगामा, नोचा, सिक्टी, डोरियालगायत सबै नाकाबाट हार्डवेयर, कपडा, किराना सामान, कस्मेटिक आदिको व्यापक मात्रामा तस्करी भइरहेको स्रोतको दाबी छ । जसरी पनि कमाउनु पर्छ भन्ने एसपीको कार्यले सीमानाका तस्करीको अखडा बन्दै गएको स्थानीयहरू बताउँछन् । विशेषगरी रातको समयमा ट्याक्टर, जिप, साइकल प्रयोग गरेर तस्करी हुने गरेको बताइन्छ ।
गृहमन्त्रीले नै पोखेका थिए असन्तुष्टि
पछिल्ला दिनमा कोशी प्रदेशको सिमानाकाबाट व्यापकरुपमा तस्करी बढेपछि गृहमन्त्री रमेश लेखकले सार्वजनिक कार्यक्रमबाटै असन्तुष्टि पोखेका थिए । कञ्चनपुर घर भएका गृहमन्त्री लेखकले गत बैशाख अन्तिममा गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू तथा कोशी प्रदेशका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरूको सहभागिता रहेको सुरक्षा गोष्ठीमै असन्तुष्टि मात्रै पोखेका थिएनन् सम्बन्धित सुरक्षा निकायलाई परिणाम देखिने गरी काम गर्न कडा निर्देशनसमेत दिए । उनले तस्करी नियन्त्रणमा ३० दिनभित्र ‘अनुभूति हुनेगरी’ काम गर्न निर्देशन दिएका थिए ।
गृहमन्त्री लेखकको भनाइ थियो, ‘तस्करीले अपराध बढाएको छ, राजस्व घटाएको छ, मुलुकमा नकारात्मक असर गरेको छ, तस्करी तुरुन्त रोक्नुपर्छ, होइन भने गृह मन्त्रालयले अर्को एक्सन लिन्छ ।’
सिमानाकाबाट हुने तस्करी नियन्त्रणको पहिलो जिम्मेवारी सशस्त्र प्रहरीको हो । तर कोशी प्रदेशमा कार्यरत सशस्त्रकै जिम्मेवार अधिकृतले तस्करसँग मिलेर कमाउधन्दालाई तीव्रता दिएपछि संगठन सुधारमा निष्कलंक छवि बनाएका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पनि त्यसको अपजस बेहोर्नु परिरहेको छ । फलतः त्यसबेला सशस्त्र मुख्यालयले मोरङस्थित प्रस्तावित सीमा गुल्म रानीका डीएसपी ऋषिकेश राउतलाई नम्बर १ बराह बाहिनी पकली, सुनसरीमा फिर्ता बोलाएर नयाँ गुल्मपतिका रूपमा अमरबहादुर खत्रीलाई पठाएको थियो । गुल्मपति राउतको अवैध धन्दा र तस्करसँगको साँठगाँठको विषयमा लोकपथ डटकमले समाचार प्रसारण गरेको भोलिपल्टै उनलाई नम्बर १ बराह बाहिनीमा फिर्ता बोलाइएको थियो । डीएसपी राउत प्रस्तावित सीमा गुल्म रानीमा गएको पाँच महिना मात्रै भएको थियो । उनको तस्करी धन्दाबारे पटक पटक मुख्यालयमा उजुरीसमेत परेको थियो ।
के डीएसपी राउतकै कारण मात्र कोशी प्रदेशको सिमानाकाबाट व्यापकरुपमा तस्करी बढेको थियो त रु उनलाई मात्रै लिएर गृहमन्त्री लेखकले सार्वजनिक कार्यक्रमबाटै असन्तुष्टि पोखेका हुन् त रु स्रोत भन्छ ः ‘पक्कै होइन ।’
राउत गुल्मपति रहेको प्रस्तावित सीमा गुल्म रानी नम्बर ३ गण मातहतकै हो । यो गण र गुल्म भएको कार्यालयको दूरी पनि धेरै छैन ।
एसपी घिमिरे मोरङकै स्थानीय
लोकपथलाई प्राप्त सूचनाअनुसार, कोशी प्रदेशमा लामो समयदेखि सिमानाकाबाट व्यापक तस्करी भइरहेको छ सुरक्षा निकाय र राजनीतिक दलकै आडमा । तस्करीबाट फाइदा लिनकै लागि पछिल्ला दिनमा कोशी प्रदेशमा त्यहीँकै स्थानीय सुरक्षा अधिकारीहरूलाई सुरक्षा कमान्डको जिम्मेवारी दिइएको छ । यसले तस्करी नियन्त्रणको त कुरै छाडौँ, स्थानीय भएका नाताले उनीहरू खुलेरै तस्करी नियन्त्रण गर्न सक्दैनन्, उल्टै तस्करसँग मिलेर आफ्नो स्वार्थ पूर्ति गर्न लाग्छन् ।
एसपी घिमिरे पनि मोरङकै स्थानीय हुन् । स्थानीय भएकाले कुन नाका कस्तो छ, कहाँबाट तस्करी गराउन सकिन्छ भन्नेमा उनी जानकार रहेको स्रोतको दाबी छ ।
सामान्यतः सुरक्षा संगठनमा स्थानीयलाई कमान्डको जिम्मा दिइँदैन । उनीहरूलाई कमान्डको जिम्मा दिँदा स्वार्थ बाझिएको बुझिन्छ । तर शक्तिकेन्द्रको आडमा घिमिरे मोरङ गणको गणपति बन्न सफल भएका हुन् । स्मरणीय छ, मोरङमा रहेको नम्बर ३ गणलाई सशस्त्र प्रहरीमा आकर्षक गणको रूपमा चिनिन्छ । त्यसैले त्यहाँ जान दाबेदारबीच एक किसिमको लडाइँ नै हुने गर्छ ।
घिमिरेअघिका गणपतिलाई पनि सोधपुछका लागि प्रधान कार्यालय बोलाइएको थियो
तस्करसँगको साँठगाँठ र राजस्व असुलीमा गडबड गरेको भन्दै गत पुसमा गणपति घिमिरेभन्दा अघिका गणपति लाई पनि सोधपुछका लागि सशस्त्र मुख्यालय बोलाइएको थियो । त्यसबेला उनलाई कडा चेतावनीका साथ कार्यक्षेत्र फर्केर राम्रो काम गर्न अनुमति दिइएको थियो । त्यसबेला उनलाईलाई १ नम्बर बाहिनीका निमित्त बाहिनीपति मनिष थापाको जिम्मेवारीमा गणमा फर्काइएको थियो । थापा अहिले डीआईजी भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया