जब एमपिएको परीक्षा स्थगित गराउन बम राखिएको हल्ला चलाइयो …

लोकपथ
1.2k
Shares

काठमाडौं । शुक्रबार बिहान पौने १२ बजे प्रहरीको कन्ट्रोल रुममा एउटा फोन आयो, ‘काठमाडौंको तीन स्थानमा बम राखिएको छ, ४ बजेसम्म जुनसुकै बेला विस्फोट हुन सक्छ ।’

प्रहरीलाई फोन गरेर बम राखेको सम्बन्धमा जानकारी दिने व्यक्तिले बम राखिएको भनिएका तीन स्थान, जनमैत्री क्याम्पस कुलेश्वर, कुलेश्वर माध्यमिक विद्यालय र एड मार्क कलेज ।

फोन गर्ने व्यक्तिले सरकारले भ्रष्टाचारमा लिप्त भएको कारण आफूहरूले आन्दोलन र विद्रोह सुरु गरेको र आफूहरू एसपी लिब्रेसन पार्टीका कार्यकर्ता भएको बतायो । त्यस लगत्तै फोन गर्ने व्यक्तिले आफ्नो मोबाइलको स्विच अफ गरिदिए ।

यता तीन विद्यालयमा बम राखिएको सूचना आएपछि प्रहरीको टोली परिचालन भयो । बम डिस्पोजल टोली प्रहरीको तालिमप्राप्त कुकुरसहित ती विद्यालयहरूमा गएर अनुसन्धान गरे ।

तीन वटै विद्यालयमा गएर अनुसन्धान गर्दा ती विद्यालयहरूमा कुनै पनि त्यस्ता शंकास्पद वस्तु फेला परेनन् । यो अनावश्यक हल्ला वा धम्की मात्रै भएको निष्कर्ष निकालियो ।

यता यसको खबर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पनि सर्कुलर भयो । त्यस लगत्तै कार्यालयको टोली फोन गर्ने व्यक्तिको गतिविधि र प्राविधिक विश्लेषणमा जुट्यो ।

प्रहरीले फोन गर्ने व्यक्तिले कीर्तिपुर क्षेत्रबाट फोन गरेको र लगत्तै मोबाइलको स्विच अफ गरेकाले फोन गर्ने व्यक्ति को थिए भन्ने सम्बन्धमा पनि जानकारी पाइसकेकै थियो ।

शुक्रबार नै अपराह्न २:१० बजे प्रहरीको कन्ट्रोल रुममा फेरि फोन आयो । फोन गर्ने व्यक्तिले आफ्नो फोन कसैले मागेर फोन गरेको र मिसयुज भएको जानकारी पाएकाले खबर गरेको बतायो ।

यता प्रहरीको निगरानीमा परेका व्यक्तिलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कुलेश्वर क्षेत्रबाटै अपराह्न २:२५ मा नियन्त्रणमा लियो । ती व्यक्ति थिए, महोत्तरी नगरपालिका २ महोत्तरीका जयरुद्र झा ।

झा वास्तवमा मास्टर इन पब्लिक इडमिनिस्ट्रेसन अर्थात् एमपिएका विद्यार्थी थिए जो आफ्नो ब्याक पेपरको लागि जनमैत्री क्याम्पसमा परीक्षा दिएर भर्खर बाहिर निस्कँदै थिए ।

झाको एमपिएको प्रवेश पत्र ।

प्रहरीले नियन्त्रणमा लिए लगत्तै गरेको सोधपुछमा झा ले आफ्नो मोबाइलको दुरुपयोग भएको नै सुनाए । तर प्रहरीको अनुसन्धानमा दुवै आवाज झा को नै भएको निष्कर्ष निकाल्दै थप अनुसन्धान सुरु गर्‍यो ।

फोन गर्नुको कारण, उनको राजनीतिक वा आपराधिक गतिविधि र प्रहरीलाई फोन गरेर आतंकित पार्नुको कारणबारे प्रहरीले सोधपुछ गर्‍यो ।

सुरुमा त झा ले आफू लोकसेवाको परीक्षा दिएर आएको बताए । तर प्रवेश पत्र र अन्य कागजात हेर्दा उनले शुक्रबार लोकसेवाको कुनै परीक्षा दिएको पाइएन । त्यसपछि फेरि उनले आफ्नो फोनको दुरुपयोग भएको नै बताए, तर त्यसमा पनि कुनै सत्यता नभेटिएपछि अन्ततः उनले आफ्नो अपराध कबुल गरे कि उक्त फोन आफैले गरेको थिएँ भनेर ।

प्रहरीले किन त्यसरी आतंकित बनाएको र त्यसको कारण के हो भन्दा उनले आफू तनावमा रहेको र तनावमा के भने थाहा नभएको जवाफ दिँदै गए ।

प्रहरीले पनि आफ्नो अनुसन्धान अगाडि बढाउँदै जाँदा झा ले सोही दिन जनमैत्री क्याम्पस, कुलेश्वरमा एमपिएको परीक्षा दिएको पत्ता लगायो । त्यसपछि प्रहरीले केरकार गर्दा आफूले परीक्षाको राम्रोसँग तयारी गर्न नसकेको र फेरि फेल हुने हो कि भन्ने चिन्ताले परीक्षा स्थगित गराउने उद्देश्यका साथ फोन गरेको स्वीकार गरे ।

पक्राउ परेका जयरुद्र झा ।

प्रहरीको अनुसन्धानमा एसपी लिब्रेसन पार्टी भन्ने कुनै पार्टी भेटिएन भने उक्त पार्टी वा त्यस्तै संस्थासँग झाको संलग्नता पनि भेटिएन । प्रहरीलाई फोन गरेर आतंकित बनाउनुको एक मात्रै उद्देश्य परीक्षा हलमा त्रासमा ल्याई परीक्षा स्थगित गराउनु मात्रै रहेको स्पष्ट भयो ।

पछि प्रहरीले थप केरकार गर्दा झाले पहिले आफूले हातले नै मुख छोपेर फरक आवाज निकालेर फोन गरेको स्वीकार गरे ।
फोनमा पछि ब्याक ग्राउन्ड भ्वाइसजस्तो बनाएर ‘मेरो फोन दिनुहोस्, के बोलेको यस्तो’ लगायतका कुराकानी भएको थियो, जसको उद्देश्य प्रहरीलाई फोन गर्ने व्यक्ति अरू नै हुन् भन्ने पार्नु थियो ।

३७ वर्षीय झाले पटक पटक लोकसेवाको परीक्षा दिएको तर अस्वीकृत भएको पाइएको छ । साथै घर परिवारमा आफूले एमपिएको परीक्षा उत्तीर्ण गरिसकेको भने पनि उनी एमपिएको परीक्षाको फेल भएको पाइएको छ ।

झा एक टायल कम्पनीमा बैंक रिप्रिजेन्टेटिभका रूपमा काम गरिरहेको पाइएको छ ।

झूटो अफवाह फैलाई आतंकित बनाएपछि उनीमाथि यति बेला अनुसन्धान भइरहेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले झाविरुद्ध अदालतबाट म्याद लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाउने तयारी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?