इजरायलले गरेको हवाई हमलामा यमनका प्रधानमन्त्री अहमद गालिब अल रहाबी मारिए

लोकपथ
3.9k
Shares

काठमाडौं । इजरायलले गरेको हवाई हमलामा यमनका प्रधानमन्त्री अहमद गालिब अल रहाबी मारिएका छन् । 

इजरायलको आक्रमणबाट यमनका सरकारकै वरिष्ठ अधिकारीहरू मारिएको यो पहिलो घटना हो ।

इजरायलले गरेको आक्रमणका बेला सरकार वार्षिक कार्य मूल्यांकनका लागि बैठकमा व्यस्त थियो । त्यही बेला इजरायलले लक्षित आक्रमणका लागि प्रयोग गरेको बताइएको छ । 

इजरायलले यमनको राजधानी सनामा बिहीबार गरेको भीषण हवाई आक्रमणमा यमनका प्रधानमन्त्री गालिब र अन्य थुप्रै उच्च अधिकारी मारिएको हुथी विद्रोहीको दाबी छ । हुथीले प्रधानमन्त्री रहाबी मारिएको पुष्टि गर्दै इजरायलले यसको नराम्रो परिणाम बेहोर्नुपर्ने चेतावनी पनि दिएको छ ।

हुथीको राजनीतिक परिषद् (पोलिटिकल काउन्सिल)का प्रमुख महदी अल मशातले प्रधानमन्त्री गालिब मारिएको पुष्टि गरेका हुन् । 

हुथीद्वारा सञ्चालित टेलिभिजनले पनि राजधानी सानामा भएको आक्रमणमा प्रधानमन्त्री अल–राहावी मारिएको समाचार प्रसारण गरेको छ । यसका साथै उनका केही मन्त्रीहरू पनि गम्भीर घाइते भएको रिपोर्टहरू सार्वजनिक गरेको छ ।

हुथीले यसको प्रतिवाद गर्ने जनाएको छ । ‘यो रक्तपातको प्रतिशोध लिनेछौं र यी घाउहरूलाई हामी विजयमा रूपान्तरण गर्नछौं,’ मशातले भिडिओ सन्देशमार्फत भनेका छन्, ‘यमनी जनता, सहिद र घाइतेका परिवारलाई वचन दिन्छौँ ।’

इजरायलका रक्षामन्त्री इसराइल कात्जले शनिबार विज्ञप्ति जारी गरेर हुथी नेतृत्वमाथि नै प्रहार गरेको जनाएको छ ।

‘हुथी प्रधानमन्त्री, उनका अधिकांश मन्त्री र अन्य उच्च अधिकारीहरूलाई हामीले समाप्त गरेका छौँ,’ रक्षामन्त्री कात्जलाई उद्धृत गर्दै सिएनएनले लेखेको छ । 

यो पटक इजरायलले राष्ट्रपति भवननजिकै रहेको सैन्य आधार, दुईवटा विद्युत् केन्द्र र इन्धन भण्डारण केन्द्रमा समेत बम खसालेको बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?