झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्थासहित आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न चुनौती दिएका छन् ।
शनिबार झापाको बिर्तामोडमा आयोजित राप्रपाको जिल्ला अधिवेशनमा सम्बोधन गर्दै लिङ्देनले जनतामाझ आफू लोकप्रिय रहेको विश्वास भए संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा प्रतिस्पर्धा गर्न ओलीलाई आमन्त्रण गरे । उनले आवश्यक परे झापा–५ क्षेत्रबाट निर्वाचन लड्ने पनि स्पष्ट पारे ।
अध्यक्ष लिङ्देनले भने, ‘एउटा सांसद जित्नु वा नजित्नु भन्दा माथि म छु । प्रधानमन्त्री, मन्त्री वा सांसद बन्ने मेरो उद्देश्य होइन। म भ्रष्ट व्यवस्थाको विरुद्ध उभिन आएको हुँ। समयले खोजे झापा–५ टाढा छैन, त्यहाँ गएर लड्न सक्छु ।’
उनले ओलीले आफ्नो कार्यकर्तालाई दिएको भनाइलाई समीक्षा गर्दै भने, ‘अस्ति प्रधानमन्त्रीले भन्नुभएछ, ‘राजेन्द्र लिङ्देन झापामा कहाँबाट जित्दो रहेछ हेरौँला।’ त्यसलाई थर्काउने कुरा होइन। हामी सहकार्यका लागि आएको होइन, स्पष्ट रूपमा जवाफ दिन आएको हुँ ।’
अध्यक्ष लिङ्देनले आगामी ०८४ को निर्वाचनमा प्रत्यक्ष कार्यकारी निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा प्रतिस्पर्धा गर्ने आफ्नो अडान दोहोर्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया