लुम्बिनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले बलियो पार्टी र सक्षम नेतृत्वबिनाको मुलुकको समृद्धि सम्भव नभएको बताएका छन् ।
रुपन्देहीको मर्चवारमा शनिबार आयोजित बृहत् आमसभामा उनले हजारौँ जनता एमालेमा प्रवेश गरेको उल्लेख गर्दै पार्टीप्रति आकर्षण बढिरहेको बताए । ‘बलियो पार्टीबिना देशको विकास सम्भव छैन भन्ने बुझेर पूर्वअध्यक्षसहित हजारौँ जनता एमालेमा प्रवेश गर्नुभएको छ, यसबाट म निकै खुसी छु,‘उनले भने ।
पौडेलले आगामी दुईरचार वर्षमै मर्चवारलाई बुटवल, भैरहवा र लुम्बिनी जस्तै सम्पन्न क्षेत्र बनाउन अस्पताल, क्याम्पस र अन्य पूर्वाधारका लागि बजेट सुनिश्चित गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा एमालेका केन्द्रीय पोलिटब्युरो सदस्य लीला गिरीले मर्चवारको पूर्वाधार विकास र कृषिको आधुनिकीकरणमा एमाले अग्रसर रहने बताए । त्यस्तै, स्थानीय पूर्वअध्यक्षहरू जितेन्द्रनाथ शुक्ला र केशवनन्दन बानियाँले उपप्रधानमन्त्रीसमक्ष मर्चवार क्षेत्रमा चार लेनको चक्रपथ निर्माण, मलखाद, कृषि सामग्री र सिँचाइ सुविधा उपलब्ध गराउन आग्रह गरे ।
एमाले नेताहरू तुलसीप्रसाद चौधरी र सुनिता ठटेरले तराई–मधेसको समृद्धि एमालेकै नेतृत्वमा सम्भव रहेको दाबी गरे ।
उर्वर भूमि र ऐतिहासिक–सांस्कृतिक महत्त्व बोकेको मर्चवारलाई तराईको अन्न भण्डार मानिए पनि शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइका आधारभूत पूर्वाधार अझै न्यून छन् । पछिल्ला वर्षयता पार्टी प्रवेश र विकासका पहलसँगै स्थानीयमा आशा बढेको छ ।
जनताले लामो उपेक्षापछि देखिएको यसप्रकारको पहललाई आशाको किरणका रूपमा लिएका छन् । प्रतिबद्धता पूरा भए मर्चवार मात्र होइन, समग्र लुम्बिनी प्रदेशकै समृद्धिको नक्सामा चम्किने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया