झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अलैँची उत्पादन वृद्धि र व्यवसाय प्रवर्द्धनका लागि प्रदेश सरकारले विशेष पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाल अलैँची व्यवसायी महासंघको बिर्तामोडमा शनिबार उद्घाटन भएको पाँचौँ महाधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले नर्सरी विकासदेखि बजार विस्तारसम्म सरकारबाट सहयोग हुने बताए।
उनका अनुसार अलैँची उत्पादन र निकासी बढाउन आवश्यक नीतिगत निर्णय गर्दै स्रोतसाधन परिचालन गर्ने तयारी भइरहेको छ । साथै, साना तथा मझौला उद्योग प्रवर्द्धनका लागि स्वीस सरकारको सहयोगमा ‘उदय’ परियोजना सुरु भइसकेको उल्लेख गर्दै उनले भने, ‘३० लाखदेखि तीन करोडसम्म साना तथा मझौला उद्योगमा लगानी गर्दैछौँ ।’
मुख्यमन्त्री कार्कीले अलैँची, चिया, बाँस र दुग्ध पदार्थजस्ता क्षेत्रको उत्पादन तथा बजार विस्तार गर्न सके कोशी प्रदेशले द्रुत गतिमा समृद्धि यात्रा तय गर्ने विश्वास व्यक्त गरे । साथै, चियाको कार्यालय काठमाडौंबाट उत्पादन क्षेत्रमै स्थानान्तरण गर्नुपर्ने धारणा समेत राखे ।
कार्यक्रममा महासंघकी अध्यक्ष निर्मला भट्टराईले वार्षिक सातदेखि १० अर्बसम्मको अलैँची निर्यात भइरहेको जानकारी दिँदै भोजपुर र सङ्खुवासभा जिल्ला समेटेर अलैँची ‘सुपरजोन’ स्थापना गर्न सरकारलाई आग्रह गरिन् ।
महाधिवेशनमा १६ जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सो अवसरमा उत्कृष्ट निर्यातकर्ता, उत्कृष्ट किसान र कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया