‘०८४ को चुनावका तयारीमा लाग्नुस्, सुदूरपश्चिम र मधेसबाट पहिलो शक्तिमा स्थापित हुने आधार तय हुँदैछ’

लोकपथ
1.8k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीको देशको राजनीतिमा विशिष्ट भूमिका रहेको दाबी गरेका छन् । 

समाजवादी प्रेस संगठनको बैठकमा अध्यक्ष नेपालले पार्टी निर्माण र जनतासँग प्रत्यक्ष संवादका लागि पार्टीपंक्तिलाई सक्रिय रूपमा काम गर्न निर्देशन दिएका हुन् ।

उनले आगामी ०८४ को चुनावका लागि अहिलेदेखि तयारीमा जुट्नुपर्ने औँल्याउँदै भने, ‘हामीले मेहनत गरेको जिल्लामा अन्य पार्टीलाई पराजित गर्न सक्ने अवस्था छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा हाम्रो शक्ति सही प्रयोग गर्न सक्यौँ भने अरू पार्टीलाई हटाउन सक्छौँ। मन र भावना मिलेकाहरूसँग सँगै जान्छौँ भने हाम्रो पार्टी पहिलो शक्तिको रूपमा स्थापित हुन सक्छ। मधेस प्रदेशमा पनि स्थिति यस्तै छ ।’

नेपालले एमालेबाट विद्रोह गर्दा सबैले साथ नदिएको भए पनि पार्टी निर्माणको लागि आँट गरेको स्मरण गर्दै भने, ‘हामीले त्यो बेलामा विद्रोहको आँट नगरेको भए हाम्रो कम्ताविजोक हुँदैनथ्यो। विद्रोहको औचित्य के छ भन्नेहरूको दुई कौडीको पनि महत्त्व छैन। हामीले संविधान, लोकतन्त्र र निरङ्कुशलाई चुनौती दिने काम गरेका छौँ।’

उनले एमाले फुटाएर आफूहरूले जायज काम गरेको उल्लेख गर्दै सम्मानित नेता झलनाथ खनालको विरोधी अभिव्यक्तिलाई अर्थहीन ठहराए ।

अध्यक्ष नेपालले थपे, ‘यो कुनै निजी स्वार्थका लागि होइन। हाम्रो पार्टीको सम्भावना अझै धेरै छ। अरू पार्टीहरू सङ्कटमा छन्, हामी संवाद गर्छौँ, तर विलीन हुँदैनौँ । विचार, सिद्धान्त र नीतिमा मिल्नेहरूसँग मात्र पार्टीलाई अघि बढाउनेछौँ। अहिले हामी समाजवादी मोर्चाको विस्तार गर्दैछौँ र सबै कुरा मिल्ने बित्तिकै वामपन्थी एकतालाई अगाडि बढाउँछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?