काठमाडौं । नेपालले भैँसीको मासु, दुग्ध पदार्थ, तरकारी, फलफूल र जडीबुटी लगायतका कृषि उत्पादन चीन निर्यात गर्न भन्सार प्रक्रियामा सहजीकरण र लचकता अपनाउन आग्रह गरेको छ ।
काठमाडौंमा आयोजित नेपाल–चीन द्विपक्षीय बैठकमा गरिएको उक्त आग्रहलाई चिनियाँ पक्षले सकारात्मक रूपमा लिएको जनाएको छ । बैठकमा नेपालको नेतृत्व कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरेका थिए भने चीनको भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनले चिनियाँ पक्षको नेतृत्व गरेका थिए ।
नेपालले थर्मलरूपमा प्रशोधित भैँसीको मासु र भैँसीको कार्टीलेज (कुरकुरे हाड), दुग्ध पदार्थ (घ्यु, नौनी, बटर, छुर्पी) निर्यातमा जोड दिएको छ । त्यस्तै, हेलेज–साइलेज पशु आहार, कुखुराको मासु र पञ्जा, तरकारी, सुन्तलाजन्य फलफूल, चिया, कफी र जडीबुटी निर्यातका लागि पनि चीनसँग सहजीकरण माग गरिएको छ ।
हाल नेपालबाट ३४ प्रकारका कृषि वस्तु ६१ कम्पनीमार्फत चीन निर्यात भइरहेको छ भने हरियो घाँस हेलेज पाँच कम्पनीमार्फत पठाइँदै आएको छ । नेपालले पशु आहार साइलेज निर्यातका लागि समेत प्रस्ताव राखेको छ ।
बैठकमा उपमन्त्री वाङ्गले नेपाललाई छिमेकी मुलुकका रूपमा कृषि वस्तु निर्यातमा प्राथमिकता दिने चीनको तयारी रहेको बताए । उनले भने, ‘व्यापार सहजीकरणको लागि दुवै मुलुकको संयुक्त प्रयास आवश्यक छ । हामी यसमा सहयोग गर्न तयार छौँ ।’
कृषिमन्त्री अधिकारीले मासु निर्यातका लागि खोरेत मुक्त क्षेत्र घोषणा लगायतका पूर्वशर्त पूरा गर्ने प्रक्रिया अघि बढाइरहेको जानकारी दिँदै, सुन्तलाजन्य फलफूल निर्यातका सर्तमा लचकता अपनाउन आग्रह गरे ।
साथै, कृषि उपज निर्यातमा सहजीकरण गर्न दुवै मुलुकबीच संयुक्त संरचना स्थापना गर्ने नेपालले गरेको प्रस्तावमा चीनले सहमति जनाएको पनि बैठकमा जानकारी दिइयो ।
बैठकमा मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्मा, डा.दीपककुमार खराल, सहसचिव र चीनको भन्सार प्रशासनका अधिकारी सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया