माधव नेपालको टिप्पणी– ‘हिजो अध्यक्ष बन्नुस् भनेर उचाले, आज बिचरा विद्यादेवी !’

लोकपथ
2.5k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पहिले उचालेर अहिले धोका दिइएको टिप्पणी गरेका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । भण्डारीलाई एमालेकै नेताहरुले भावी नेतृत्वका लागि उचालेर अहिले धोका दिएको बताए । करिब ६ महिना अघि एक एमाले नेताले अध्यक्ष बन्नस् भन्दै उचालेको भिडियो आफूसँग मोबाइलमा सुरक्षित रहेको दाबी गरे ।

‘विद्या भण्डारीजी तपाईँलाई सदस्य कसले बनायो ? अनि सदस्यता कायम छ भनेर बचन कसले दियो ? भोलि तपाईँ एमालेको अध्यक्ष पनि हुन सक्छ भनेर कसले भन्यो ? प्रमाण चाहिन्छ ? अहिले म सुनाइदिउँ ? मेरो मोबाइलमा प्रमाण छ । आज भन्दा ६ महिना अघि भाषणा गरेको, कसले भाषण गरेको म नामै नभनिहालौँ, पुगिहाल्छ फेरि कानमा,’ उनले भने ।

एमालेका नेताहरुले अध्यक्ष नै बन्नेगरी विद्याले तयारी गरेपछि खुट्टा तान्ने काम गरेको टिप्पणी गरे । साथै आफूले धेरै समर्थन गरेर बोलेमा झन संकट आउने भन्दै आफूले त्यस विषयमा धेरै बोल्न नचाहेको समेत उनको तर्क छ ।

‘विद्या भण्डारीजी तपाईँ अगाडि बढ्नुस्, तपाईँ एमालेका अध्यक्ष किन नहुने भन्ने अनि अहिले अध्यक्षको निम्ति हेर्दा खुट्टै भाँचिने हो कि आँखै निकाल्दिने हो भन्ने ढंगले भन्ने बिचरा विद्या भण्डारीलाई सताउन पाइन्छ अहिले ? धेरै साथ दियो भने पनि नोक्सान विद्याजीलाई होला मलाई धेरै बोल्न नलगाउनुस्,’ उनले भने ।

अध्यक्ष नेपालले कम्युनिष्ट पार्टी त्यसमा पनि आफ्नो पार्टीमा समेत महासंकट रहेको बताउँदै पार्टीको विधि विधान सबैले पालना गर्न निर्देशन दिए । साथै एमालेको नेतृत्वका कारण आफ्नो पार्टीभित्र संकट पैदा भएको उनको दाबी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?