काठमाडौं महानगरले कवाड व्यवसायीलाई हेप्यो : नागिना यादव

लोकपथ
280
Shares

काठमाडौं ।  नेपाली कांग्रेसकी सांसद नागिना यादवले आन्दोलनरत कवाडी व्यवसायीहरुको माग सम्बोधन गर्न सरकारलाई तत्काल पहल गर्न आग्रह गरेकी छन् । 

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले कवाडी व्यवसायीहरू सोमबारदेखि सडकमा आन्दोलनरत भए पनि सरकारले वार्तामार्फत उनीहरूको माग पूरा नगरेकोमा आपत्ति व्यक्त गरेकी हुन् ।

सांसद यादवले काठमाडौं महानगरपालिका प्रहरी प्रमुख एसएसपी राजु पाण्डेको रंगभेदी अभिव्यक्तिप्रति खेद व्यक्त गर्दै त्यसलाई निन्दनीय भनेकी छन् । उनका अनुसार, एसएसपी पाण्डेले ‘गोरा मात्रै नेपाली हुन्, काला होइनन्’ भनी दिएको अभिव्यक्ति स्वीकार्य छैन ।

उनले संसदमा भनिन्, ‘कवाडी व्यवसायीहरू सोमबारदेखि सडकमा छन् । उनीहरूलाई वार्तामा बोलाएर माग पूरा गर्न किन पहल गरिएको छैन ? काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुखले नेपाली गोरा मात्रै हुन्, काला होइनन् भनेको अभिव्यक्ति खेदजनक छ । रंगले नेपाली हुने होइन, जन्म र परिचयले नेपाली हुने हो । यस कारण, एसएसपी पाण्डेले माफी माग्नुपर्छ ।’

सांसद यादवले यस अभिव्यक्तिप्रति ध्यानाकर्षण गराउँदै प्रहरी प्रमुखले औपचारिक माफी माग्नुपर्नेमा जोड दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?