विशेष अदालतको अध्यक्षमा उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट नियुक्त 

लोकपथ
462
Shares

काठमाडौं । सरकारले विशेष अदालतको अध्यक्षमा उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्टलाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले न्याय परिषद्को सिफारिसका आधारमा भट्टलाई अध्यक्ष नियुक्त गरेको हो ।

न्यायपरिषद्ले विशेष अदालतको अध्यक्षसहित चार जना नयाँ सदस्यहरूको नाम सिफारिस गरेको थियो । जसअनुसार, जुम्ला इजलासका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ, उच्च अदालत वीरगञ्ज इजलासका न्यायाधीश नारायणप्रसाद पौडेल, उच्च अदालत सुर्खेतका न्यायाधीश हेमन्त रावल र वीरगञ्ज इजलासका न्यायाधीश उमेश कोइराला सदस्य नियुक्त भएका छन् । 

विशेष अदालतका अध्यक्ष र सदस्यहरू न्यायपरिषद्को परामर्शमा सरकारले तोक्ने कानुनी व्यवस्था छ । 

हाल विशेष अदालतका अध्यक्ष रहेका टेकनारायण कुँवरलाई भने उच्च अदालत जनकपुरको न्यायाधीशमा सरुवा गरिएको छ । यस्तै, विशेष अदालतका सदस्य तेजनारायण सिंह राई उच्च अदालत पोखरामा, रामबहादुर थापा उच्च अदालत जनकपुरको राजविराज इजलासमा, मुरारीबाबु श्रेष्ठ उच्च अदालत जनकपुरमा, रितेन्द्र थापा उच्च अदालतको वीरगञ्ज इजलासमा सरुवा भएका छन्।

दुई वर्ष एक ठाउँमा बसेका न्यायाधीशहरूको सरुवा गर्ने अभ्यास अनुसार न्यायपरिषदले न्यायाधीशहरू सरुवा गरेको हो ।

विशेष अदालतका सदस्य विदुर कोइराला मात्रै यथावत् रहेका छन् । उनी एक वर्षअघि मात्रै सरुवा भएर विशेष अदालत आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?