राप्रपाले संसदमै माग्यो प्रधानमन्त्रीको राजीनामा

लोकपथ
1k
Shares

काठमाडौं । विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्रीको राजीनामा माग गरेको छ । आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले सरकारले उखु किसानको माग सम्बोधन गर्न नसकेको भन्दै राजीनामा माग गरेका हुन् ।

उनले संख्यात्मक तागतका हिसावले सरकार दुई तिहाइको भए पनि काम गराइको हिसावले कमजोर सावित भएको दाबी गरे ।

‘यदी दुई तिहाइको सरकारले उखु किसानको पैसा तिर्न सकेन भने यो सरकार दुई तिहाइको रहेनछ नि त! कमजोर खुट्टा भएको, लुलो खुट्टा भएको अहिले पनि भन्छु यो त पोलियो रोग लागेको सरकार रहेछ । यो सरकारको हैसियत थाहा भइसक्यो ।

एउटा किसानहरुको पैसा समेत दिन नसक्ने के को दुई तिहाइको सरकार ?,’ उनले भने, ‘यदी किसानहरुलाई पैसा दिन सक्दैन भने सरकारमा किन बसेको, राजीनामा दिनुस् हामी चलाउँछौँ सरकार । त्यसपछि हामी किसानहरुको माग पूरा गर्छौँ ।’
त्यस्तै सरकारले राज्यको ढुकुटीमा पैसा नभएका कारण उखु किसानहरुलाई रकम दिन नसकेको जवाफ दिएको छ । त्यसप्रति टिप्पणी गर्दै शाहीले जनताले तिरेको कर र विदेशबाट आएको रेमिट्यान्स कहाँ गयो भन्दै प्रश्न गरेका छन् ।

‘आज उखु किसानले पैसा नपाउँदा दुई तिहाइको सरकारले जवाफ दिएछ । उखु किसानको अनुदान आधा घटाएर अर्थमन्त्रालयले भनेछ– ढुकुटीमा पैसा छैन । यदी ढुकुटीमा पैसा छैन भने हामी जनताले रगत र पसिना गरेर एक एक गरेर तिरेको पैसा चाँही कहाँ छ यसको जवाफ चाहिन्छ,’ उनले भने, ‘र अर्को विदेशमा रहेका नेपालीले रेमिटबाट पठाएको त्यो रेमिट्यान्सको पैसा कहाँ छ ।’

त्यसैगरी भिजिट भिसा प्रकरणमा आज ९० दिन भन्दा बढी समय विपक्षीहरुले संसदमा आवाज उठाउँदा पनि सरकारले कुनै चासो नदिएको भन्दै कटाक्ष गरे । आफूहरु आन्दोलन गर्नेलाई भन्दा बाहिरबाट हेर्नेहरुलाई लाज भएको भन्दै छिटो भन्दा छिटो माग पूरा गर्न आग्रह गरे ।

‘भिजिट भिसामा आज ९० दिन हुन लाग्यो । यो हामी आन्दोलन गर्ने भन्दा देख्नेलाई लाज भइसक्यो । सरकारले यो कुरा छिटो भन्दा छिटो सम्बोधन गरोस् । होइन भने यसैगरी पेलेर राख्ने हो भने ०८४ मा जनताले यसको नतिजा प्रकाशन गर्नेछन्,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?