हैजा जोखिम न्यूनीकरणमा सक्रिय कदम उठाउन महामन्त्री थापाको आग्रह

लोकपथ
14
Shares

 पर्सा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वीरगञ्ज आसपासमा देखिएको हैजा सङ्क्रमण नियन्त्रणका लागि अत्यावश्यक औषधि र जनशक्ति तत्पर अवस्थामा राख्नुपर्ने बताएका छन् ।

आज नारायणी अस्पतालमा हैजाका बिरामी तथा उनीहरूका आफन्तसँग भेटघाट गरेपछि अस्पताल प्रशासनसँग छलफल गर्दै महामन्त्री थापाले हैजा संक्रमितको उपचारमा कुनै पनि खालको कमजोरी नगर्न आग्रह गरे ।

उनले भने, ‘हैजाको उपचारका लागि आउने बिरामीले निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्छ। त्यसका लागि अस्पतालले अत्यावश्यक औषधि, खोप र जनशक्तिको उचित व्यवस्था गर्न आवश्यक छ ।’

महामन्त्री थापाले काठमाडौं फर्किएपछि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र सरोकारवालासँग समन्वय गरेर आवश्यक औषधि र सहयोग सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे  । साथै उनले अस्पतालको सरसफाइमा पनि विशेष ध्यान दिन आग्रह गरे ।

उनले अनुभव सुनाउँदै भने, ‘म स्वास्थ्य मन्त्री हुँदा पनि देशभरिका अस्पतालमा सरसफाइ मुख्य चुनौतीको रूपमा रहेको थियो । अस्पताल परिसर र शौचालय मात्र होइन, जनशक्ति व्यवस्थापन जस्ता विविध विषयहरू पनि सरसफाइसँग जोडिएका छन् ।’

महामन्त्री थापाले सरकारी र निजी अस्पतालमा उपचार अनुभवमा देखिने फरक पनि सरसफाइको अन्तरसँग जोडिएको बताए । उनले निजी र सरकारी अस्पतालबिच सरसफाइमा देखिने भिन्नतालाई घटाउन जरुरी ठहर गरे ।

थापाले नारायणी अस्पताललाई वीरगञ्ज र आसपासको क्षेत्रको आसा र भरोसाको केन्द्रका रूपमा विकास गर्न सबैलाई लाग्नुपर्नेमा जोड दिँदै अस्पतालको पूर्वाधार निर्माणका लागि आफू जुनसुकै सहयोग र समन्वय गर्न तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?