शिक्षा विधेयक सच्याउन माग गर्दै शिक्षक महासंघद्वारा माओवादी पार्टी कार्यालयमा धर्ना

लोकपथ
175
Shares

काठमाडौं । प्रस्तावित विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै नेपाल शिक्षक महासंघले नेकपा (माओवादी केन्द्र) को पेरिस डाँडास्थित पार्टी कार्यालयमा धर्ना दिएको छ ।

महासंघ र सरकार बिच विगतमा भएको सहमतिअनुसार शिक्षा विधेयक सच्याउन दबाब दिन पहिलो चरणको आन्दोलनको रूपमा महासंघले माओवादी पार्टी कार्यालयमा धर्ना कार्यक्रम सुरु गरेको हो। महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले संसदीय समितिबाट पारित भएर प्रतिनिधि सभामा पुगेको विधेयकमा आफ्ना मागहरू सम्बोधन गराउन आन्दोलनमा उत्रिएको जानकारी दिएका छन् ।

महासंघले सार्वजनिक शिक्षालाई उन्नत बनाउन शिक्षक कर्मचारी र महासंघले राखेका मागहरू सम्बोधन गर्नु अपरिहार्य भएको बताएको छ । धर्ना कार्यक्रम भदौ २० सम्म जारी रहनेछ भने भदौ १३ मा देशभरका स्थानीय तह र भदौ १५ मा जिल्ला शिक्षा इकाइमा धर्ना कार्यक्रम सञ्चालन गरिनेछ ।

महासंघले अस्थायी शिक्षकको पदपूर्ति ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धा र २५ प्रतिशत खुला प्रतियोगितामा गर्नुपर्ने माग गरेको छ । तर विधेयकमा ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला गर्ने व्यवस्था गरिएको छ ।

साथै, विधेयकमा विद्यालय कर्मचारीको पद र वेतन सुनिश्चित नभएको, बाल कक्षा शिक्षकको पद र सेवा सुविधा निश्चित नभएको, संस्थागत विद्यालयका शिक्षकको सेवा तथा अव्यवहारिक सरुवा प्रणालीको व्यवस्था भएको भन्दै महासंघ असन्तुष्ट छ ।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक भदौ ५ मा पारित गरिएको थियो। विधेयकमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले फरक मत राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?