काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक दलहरूको मनोवृत्ति अहिलेसम्म पूर्ण समावेशी समानुपातिक निर्वाचन प्रणालीसम्म पुग्न नसकेको बताएका छन् ।
शुक्रबार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकहरूको लोकार्पण समारोहमा मन्त्री गुरुङले मुलुकलाई पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा लैजानसके मात्र उपेक्षित समुदायलाई राज्य संयन्त्रसँग जोड्न सकिने बताए ।
उनले संविधानले आदिवासी समुदायलाई दिएको अधिकार कार्यान्वयन गर्न जनमत सिर्जना गर्न आवश्यक रहेको उल्लेख गर्दै पछिल्लो १० वर्षमा नेपालको वर्ग संरचना बदलिएको र त्यसअनुसार राजनीतिक र निर्वाचन प्रणालीमा सुधार आवश्यक भएको औँल्याए ।
मन्त्री गुरुङले भने, ‘पूर्ण समानुपातिक प्रणालीमा गयो भने सबैभन्दा सस्तो प्रणाली हुन्छ । व्यक्तिले गर्ने खर्च त केही हुँदैन । दलहरूको बीचमा प्रतिस्पर्धा पनि कम हुन्छ। दलहरूले किन यस प्रणालीको वकालत गर्दैनन् भने, उनीहरूको मनस्थिति त्यहाँ पुगेको छैन ।’
उनले आदिवासी, पिछडिएका र बञ्चित समुदायलाई राज्यको मूलधारमा ल्याउन संरचनागत रूपान्तरण आवश्यक रहेको र एकात्मक शासन प्रणालीमा विविधतामा एकता सम्भव नदेखिएकै कारण मुलुकमा संघीयता ल्याइएको जिकिर पनि गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया