काठमाडौं । भिजिट भिसा दुरुपयोग प्रकरणलाई लिएर लामो समयदेखि संसद् बहिष्कार गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्न दिने भएको छ ।
प्रधानमन्त्री ओलीले शनिबार तय भएको आफ्नो आसन्न चीन भ्रमणबारे प्रतिनिधि सभामा जानकारी दिने कार्यसूची रहेको छ। बिहीबार सभामुख देवराज घिमिरेसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीलाई सम्बोधन गर्न अवरोध नगर्ने बताए ।
‘हामी निरन्तर संसदमा आन्दोलनमै छौँ, तर कतिपय गर्नुपर्ने काममा ख्याल गर्नुपर्छ,‘परियारले भने, ‘प्रधानमन्त्रीज्यूले आसन्न विदेश भ्रमणबारे सदनलाई जानकारी दिन खोज्नुभएको छ। सदनमा बोल्ने उहाँको अग्राधिकार हो, समय मागेपछि उहाँले बोल्न सक्नुहुन्छ।’
रास्वपाले भिजिट भिसा दुरुपयोग प्रकरणमा छानबिन समितिका माग गर्दै संसद् अवरुद्ध गर्दै आएको छ। तर प्रधानमन्त्रीले विदेश भ्रमणसम्बन्धी जानकारी दिन सदनमा समय मागेपछि रास्वपाले बहिष्कार नगरी सम्बोधन गर्न दिने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया