शुक्रबार प्रतिनिधि सभाबाट भूमि विधेयक पारित गरिने

लोकपथ
371
Shares

 काठमाडौं । शुक्रबारको प्रतिनिधि सभा बैठकमा भूमिसम्बन्धी विधेयक पारित गर्ने तयारी गरिएको छ । सभामुख देवराज घिमिरेले बिहीबार प्रमुख सचेतकहरुसँग भदौ महिनाभरका बैठक कार्यसूची निर्धारणबारे छलफल गरेका थिए ।

छलफलपछि नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले शुक्रबारको बैठकमा भूमिसम्बन्धी विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाउने कार्य तालिका बनाइएको जानकारी दिए । 

सोही बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने कार्यसूची रहेको उनले बताए ।

प्रमुख सचेतक बर्तौलाका अनुसार भदौ १८ गते नागरिकता सम्बन्धी विधेयक र राष्ट्रपति कार्यालयबाट फिर्ता भएको संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी विधेयक पारित गर्ने तयारी छ । 

त्यस्तै, भदौ १७ गते राष्ट्रिय सभाबाट सन्देशसहित संघीय निजामति सेवा विधेयक फिर्ता आएमा १८ गते प्रतिनिधि सभामा टेबुल गर्ने र १९ गते पारित गर्ने कार्यक्रम छ ।

यस्तै, प्रतिनिधि सभाको बैठक भदौ २५, २६ र २७ गते पनि बस्नेछ । भदौ २६ गते विद्यालय शिक्षा विधेयक पारित गर्ने गरी कार्यसूची बनाइएको बर्तौलाले जानकारी दिए ।

उनका अनुसार भदौ महिनाभर संघीयता र शासन व्यवस्थासँग सम्बन्धित महत्त्वपूर्ण विधेयकहरू पारित गर्ने गरी कार्य तालिका निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?