काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको दोस्रो विधान महाधिवेशनका लागि केन्द्रीय कमिटीले तयार पारेको विधान संशोधन प्रस्ताव सैद्धान्तिक र आधारभूत दुवै हिसाबले ठिक रहेको बताएका छन् ।
बिहीबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा विभिन्न जन वर्गीय संगठन र कमिटीहरुले बुझाएका सुझाव ग्रहण गर्दै सञ्चारकर्मीमाझ बोल्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन् ।
उनका अनुसार, पार्टीको नवौँ केन्द्रीय कमिटी बैठकले सुझावका लागि मातहतका कमिटीमा पठाएको प्रस्तावमा सम्बन्धित पक्षहरूले आफ्नो–आफ्नो समुदाय र वर्गको हितलाई जोड दिएर सुझाव पेस गरेका छन् ।
‘पार्टीको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गर्न तयार पारिएको प्रस्तावमा आज अन्तिम दिनसम्ममा संघ–संस्था र पार्टी कमिटीहरुले सुझाव दिएका छन् । अधिकांश संगठनहरुले प्रस्तावलाई आधारभूत र सैद्धान्तिक रूपमा ठिक ठानेका छन्,’ पोखरेलले भने ।
उनले युवा संघले युवाको प्रतिनिधित्वमा, अनेमसंघले महिलाको प्रतिनिधित्वमा जोड दिएको र अन्य समुदायहरुले पनि आफ्ना सरोकारका विषयलाई केन्द्रित गरेर सुझाव पेस गरेको जानकारी दिए ।
एमालेको दोस्रो विधान महाधिवेशन यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराईज हलमा हुने तय भएको छ । महाधिवेशनमा प्रतिनिधि र आयोजक गरी २ हजार ३७८ जना सहभागी हुनेछन् । त्यसलाई सफल बनाउन ८ वटा उपसमिति बनाएर तयारीलाई तीव्रता दिइएको एमालेले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया