काठमाडौं । शिक्षकहरूले विद्यालय शिक्षा विधेयकमा आफ्ना माग सम्बोधन नभए आन्दोलनलाई थप चर्काउने चेतावनी दिएका छन् ।
बिहीबार ललितपुरको च्यासलस्थित नेकपा (एमाले) मुख्यालयमा धर्ना दिँदै उनीहरूले मागहरू पूरा नभए फेरि ठुला आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन् ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति नेतृत्वको टोलीले प्रमुख दलका मुख्यालयमा निरन्तर धर्ना दिँदै दबाब सिर्जना गरिरहेको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विधेयक समितिबाट अघि बढ्दा केही माग सम्बोधन भए पनि अझै केही महत्त्वपूर्ण माग छुटेकाले संसदमा संशोधन आवश्यक भएको बताए ।
उनले भने, ‘प्रतिनिधि सभा र राष्ट्रिय सभामा अझै संशोधनको अवसर छ । यदि ऐन पारित हुँदा पनि सुधार नभए हामी २०८१/८२ भन्दा ठुलो आन्दोलनमा जानेछौँ ।’
महासंघले भाद्र ११ गतेदेखि प्रमुख दलका मुख्यालयमा बिहान ११ देखि १ बजेसम्म धर्ना दिने कार्यक्रम सुरु गरेको छ ।
बुधबार सानेपास्थित नेपाली कांग्रेस मुख्यालयमा धर्ना दिएको महासंघले बिहीबार एमाले कार्यालयमा धर्ना दियो । शुक्रबार (१३ गते) माओवादी केन्द्रको पेरिसडाँडास्थित मुख्यालयमा धर्ना दिने कार्यक्रम तय भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया