तारकेश्वर नगरपालिका–१० लोकतान्त्रिक चोकमा सञ्चालनमा आयो ‘शुभम इन्टरनेशनल अस्पताल’

लोकपथ
1.7k
Shares

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं १० स्थित लोकतान्त्रिक चोकमा पूर्ण क्षमतासहित ‘शुभम् अन्तर्राष्ट्रिय अस्पताल’ सञ्चालनमा आएको छ ।

बिहीबार पूर्वराष्ट्रपति डा. रामवरण यादवले ‘शुभम् अन्तर्राष्ट्रिय अस्पताल’ को उद्घाटन गरेका हुन् ।

नेपालको स्वास्थ्य क्षेत्र महंगो रहेको गुनासो आइरहेका बेला आम नागरिकलाई शुलभ रुपमा स्वास्थ्य सेवा दिने उदेश्यले अस्पतालको स्थापना गरिएको सञ्चालक समितिले जनाएको छ ।

अस्पतालको उद्घाटन गर्दा पूर्व राष्ट्रपति डा. यादवले आम जनताको पहुँचमा सेवा पुग्ने हिसावले अघि बढ्न सुझाव दिए । साथै भुईँ मान्छेदेखि भीआईपीसम्म अट्ने गरी स्वास्थ्य सेवा दिनसक्ने क्षमता अस्पतालले राखोस् भनि शुभकामना समेत व्यक्त गरे ।
‘म क्यान्सरको बिरामी छु, ८३ वर्षको पुगेँ । भोलि यही अस्पतालमा ट्रिटमेन्टका बेलामा आउनुपर्यो भने मैले राम्र्रो उपचार पाउँछु भनेर आशा लिएको छु,’ डा. यादवले भने ।

यसैगरी उनले लगानीकर्ताले लगानी अनुसार प्रतिफल खोज्ने भए पनि स्वास्थ्य क्षेत्रमा गरिएको लगानीबाट प्रतिफल भन्दा पनि जनताको सेवा प्रमुख सोचेर काम गर्न समेत आग्रह गरे ।

त्यस्तै उनले तराईमा जनचेतनाको अभावका कारण शुद्ध पानी नपाउँदा अहिले हैजा महामारी फैलिएको बताए । साथै पानी उमालेर पिउनुपर्छ भन्ने ज्ञान नहुँदा तराईमा समस्या उत्पन्न भइरहेको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै पूर्व स्वास्थ्यमन्त्री समेत रहेका कांग्रेस सांसद अर्जुननरसिंह केसीले शुभम प्राइभेट संस्था भए पनि समुदायमुखी भएर काम गर्न सुझाव दिए ।

‘यो मुल रुपमा प्राइभेट अस्पताल भए पनि कम्युनिटी ओरियन्टेटेड बन्न सकोस् । यो पहिला सेवामुखी त्यसपछि मात्रै नाफामुखी बनोस्,’ उनले शुभकामना दिँदै भने ।

त्यस्तै तल्लो तहका नागरिकहरुको सेवाका लागि पहिलो प्राथमिकताको केन्द्र शुभम बन्न सकोस् भन्ने सुझाव दिए । साथै नाम मात्र अन्तर्राष्ट्रिय नभए काम पनि अन्तर्राष्ट्रिय ढंगले गर्न आग्रह गरे ।

यता अस्पताल सञ्चालक समितिका अध्यक्ष एवं वरिष्ठ चिकित्सक डा. केदार नरसिंह केसीले आफ्नो नेतृत्वमा तल्लो तहका नागरिकहरुको सेवालाई प्राथमिकता दिने गरी अस्पताल खोलिएको बताए ।

‘यो संस्थालाई निशन्देह रुपले क्वालिटी, क्वान्टीटी र सबै प्रकारले उत्कृष्ट बनाउने बचनबद्धता व्यक्त गर्न चाहन्छु,’ उनले पूर्वराष्ट्रपति डा. यादवलाई आश्वस्त पार्दै भने, ‘तपाईँलाई उपचार गर्नुपर्ने अवस्था आयो भने पनि हामी त्यही अनुसार उत्कृष्ट उपचार गर्ने गरी तयारी गर्नसक्छौँ ।’

लामो समय चिकित्सक पेशामा बिताएका डा. केसीले नेपालको स्वास्थ्य क्षेत्र दयानीय बनेको भन्दै आक्रोश व्यक्त गरे । उनले अहिले पनि सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिन नसकेको भन्दै कटाक्ष गरे । साथै अहिले पनि आफूलाई दैनिक मध्यराति धेरै व्यक्तिहरुले बेड मिलाइदिन आग्रह गर्दै फोन आउने गरेको र आफूले सकेको सहयोग गर्नेगरेको सुनाए ।

मुलतः तारकेश्वर नगरपालिकामा बस्ने नागरिक र नुवाकोट, धादिङ, रसुवा, लमजुङ लगायतका काठमाडौंसँग नजिक रहेका जिल्लादेखि देशभरका नागरिकहरुलाई सेवा दिने हेतुले अस्पताल निर्माण गरिएको सञ्चालक समितिले जनाएको छ ।

करिब १५ करोडको लगानीमा दुई वर्ष अगाडी स्थापना भएको यस अस्पतालमा आकस्मिक सेवा, ल्याब, ओपीडी र फार्मेसी लगायतको सेवा मात्र संचालनमा रहेको थियो ।

उदघाटनपछि अस्पतालले २४सैँ घण्टा इमरजेन्सी सेवा, बहिरंग तथा अन्तरंग सेवा, अत्याधुनिक ल्याबोटरी तथा डाइग्नोष्टिक सेवा, फार्मेसी सेवा, सामान्य र प्रमुख शल्यक्रिया सेवा, आइसीयु, इसडियू सेवा र रेडियोलोजी–डाइग्नोष्टिक सेवा (एक्स–रे, इसिएचओ, अल्ट्रासाउन्ड, कोलोनोस्कोप, इन्डोस्कोपी) प्रदान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?