उखु किसान सबैभन्दा बढी अपहेलित भएका छन् : उपेन्द्र यादव

लोकपथ
49
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले उखु किसानलाई नेपालमा सबैभन्दा बढी अपहेलित गरिएको बताएका छन् ।

बिहीबार माइतीघर मा जारी उखु किसानको आन्दोलनमा सहभागी हुँदै यादवले सरकारले तत्काल किसानलाई दिनुपर्ने अनुदान उपलब्ध गराउनुपर्ने माग गरे । उनले किसान उत्पादन गर्ने तर मूल्य नपाउने, उल्टै व्यापारी र मिल सञ्चालक धनी हुने अवस्थाको आलोचना गरे ।

यादवले भने, ‘सरकारले किसानलाई दिनुपर्ने अनुदान तुरुन्त दिनुपर्छ । किसानले मिलमा उखु पुर्‍याएको एक महिनाभित्र मूल्य भुक्तानी गर्ने व्यवस्था गर्नुपर्छ । यदि समयमै रकम नदिए हर्जना र व्याजसहित कानुनी कारबाहीको प्रावधान हुनुपर्छ ।’

उनले राज्यले किसानलाई नैतिक, नीतिगत र कानुनी रूपमा उपेक्षा गरेको आरोप लगाए । ‘किसानलाई कुनै योजना छैन, उत्पादनको ग्यारेन्टी छैन, नीतिगत संरक्षण छैन । त्यसैले कृषि उत्पादन बढ्दैन, देश आत्मनिर्भर बन्न सक्दैन, बेरोजगारी र गरिबी घट्दैन,‘यादवले भने ।

सरकारले तोकेको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान नपाएको भन्दै उखु किसान माइतीघर मा आन्दोलनमा छन् । सरकारले सो अनुदानमा आधा कटौती गरेपछि किसान आन्दोलित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?