काठमाडौं । नेपाल सरकारले नयाँ राष्ट्रिय युवा नीति २०८२ स्वीकृत गर्दै अब युवाको उमेर सीमा १८ देखि ३५ वर्ष कायम गरेको छ । यसअघि प्रचलनमा रहेको राष्ट्रिय युवा नीति २०७२ अनुसार युवाको उमेर १६ देखि ४० वर्ष तोकिएको थियो ।
नयाँ नीतिले युवालाई सक्षम, जिम्मेवार र राष्ट्र निर्माणमा सार्थक योगदान गर्ने गरी तयार पार्ने उद्देश्य लिएको छ । यसका मुख्य ध्येयहरूमा युवाको सर्वाङ्गीण विकास, राष्ट्रभाव जागृत गर्ने, सदाचारी र सुसंस्कृत युवा तयार पार्दै समुन्नत राष्ट्र निर्माणमा उनीहरूको भूमिका सुनिश्चित गर्ने कुरा उल्लेख छ ।
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले नयाँ माग र आवश्यकतालाई सम्बोधन गर्न नीति परिमार्जन गरिएको बताए । उनका अनुसार, ‘बालबालिका ऐनले १८ वर्षमुनिलाई बालबालिका मानेको र अन्तर्राष्ट्रिय परिपाटीलाई ध्यानमा राख्दै युवाको नयाँ परिभाषा गरिएको हो ।
नयाँ नीतिले स्वस्थ, शिक्षित, उद्यमशील, सृजनशील र अधिकारप्रति सचेत युवा शक्ति विकास गर्नेमा जोड दिएको छ । अनुसन्धान, अन्वेषण, प्रविधि र साइबर सुरक्षामा युवाको सहज पहुँच तथा सहभागिता सुनिश्चित गर्ने लक्ष्य पनि लिइएको छ ।
युवालाई आत्मनिर्भर र स्वरोजगार बनाउन नीति भित्र स्टार्टअप, व्यवसाय प्रवर्द्धन केन्द्र, करिअर काउन्सेलिङ, प्राविधिक तथा सीपमूलक तालिम लगायतका कार्यक्रम सञ्चालन गर्ने प्रावधान राखिएको छ । त्यस्तै, परम्परागत सिपको आधुनिकीकरण, हरित कृषि रोजगार, उद्यमशीलता प्रतियोगिता, सहुलियतपूर्ण कर्जा, व्यावसायिक बीमा र कर छुट मार्फत युवा उद्यमशीलता प्रवर्द्धन गरिनेछ ।
सरकारले यस नीतिमार्फत युवाको ज्ञान, सीप र पुँजीलाई उत्पादनमा लगानी गर्न प्रेरित गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धी मानव पुँजी निर्माण गर्ने लक्ष्य लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया