काठमाडौं । अमेरिकाको एउटा विद्यालयमा २३ वर्षीय एक युवकले अन्धाधुन्ध गोली चलाउँदा ८ र ६ वर्षका दुई बालकको मृत्यु भएको छ । उनीहरूको घाँटीमा गोली लागेको थियो ।
गोलीकाण्डमा अरू १४ विद्यार्थी र तीन जना वृद्ध घाइते भएका छन् । घाइते हुने विद्यार्थीहरू ६ देखि १८ वर्ष उमेर समूहका छन् भने तीन वृद्ध ८० वर्षका छन् । सबै घाइतेहरूको स्वास्थ्य सुधारोन्मुख रहेको छ ।
अमेरिकाको मिनिसोटा राज्यको मिनियापोलिसस्थित एनुनसियसन क्याथोलिक चर्चभित्र सञ्चालित विद्यालयमा ती युवकले स्थानीय समयअनुसार बुधबार बिहान अन्धाधुन्ध गोली चलाएका थिए । गोली चल्दा विद्यालयमा प्रार्थना चल्दै थियो ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ती युवक चर्चको बाहिरबाट झ्यालको सिसा फोडेर विद्यालय प्रवेश गरेका थिए । तीनवटा बन्दुक (राइफल, पेस्तोल र सटगन) बाट उनले सामूहिक प्रार्थना सभामा गोली चलाएका थिए ।
गोली चलाउने युवक सोही विद्यालयका पूर्वविद्यार्थी रोबिन वेटम्यान रहेको खुलेको छ । गोली चलाएपछि ती युवकले विद्यालयको पछाडिपट्टिको भागमा गएर आत्महत्या गरेका थिए । आत्महत्या गर्नुअघि उनले एउटा भिडिओ बनाएको पनि खुलेको छ ।
भिडिओमा उनले आफू डिप्रेसनको सिकार भएको बताएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार वेटम्यानले २०२० मा आफ्नो नाम र लैंगिक पहिचान परिवर्तन गरेका थिए ।
एफबीआईले यस घटनालाई क्याथोलिक समुदायलाई लक्षित गरेको घरेलु आतंकवाद र घृणात्मक अपराधको रूपमा अनुसन्धान गरिरहेको जनाएको छ ।
मिनियापोलिसका मेयर जेकब फ्रेले अमेरिकामा बन्दुक सजिलै पाइने अवस्थाकै कारण यस्ता घटनाहरू बढिरहेको टिप्पणी गरेका छन् ।
योसहित चालु आर्थिक वर्षमा अमेरिकाका विद्यालयमा भएको गोलीकाण्डको संख्या १४६ पुगेको छ । यस घटनाले फेरि एकपटक अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी बहसलाई चर्काएको भनेर सञ्चार माध्यमले लेखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया