काठमाडौं । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अब अष्ट्रेलिया उडान हुने भएको छ । चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्ने तयारी गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको हो ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार आवश्यक प्रक्रिया पूरा भएपछि सेप्टेम्बर महिनादेखि नै उडान सुरु गर्ने कम्पनीको योजना रहेको छ । यसअघि सिचुवानले पोखरामा चार्टर उडान गरिसकेको थियो ।
उक्त उडान सुरु भएमा अष्ट्रेलिया आवत–जावत गर्ने नेपाली यात्रुलाई सहज हुने विश्वास लिइएको छ । हाल पोखरामा हिमालय एयरलाइन्सले मात्र नियमित उडान गरिरहेको छ ।
यसैबिच भुटान एयरलाइन्सले पनि पोखराबाट पारो इन्टरनेसनल एयरपोर्टका लागि चार्टर्ड उडान अनुमति मागेको छ । आगामी सेप्टेम्बर २८ र अक्टोबरमा चार दिन यात्रु चार्टर्ड उडान गर्ने योजना रहेको प्राधिकरणले जनाएको छ । सफल भएमा पारो–पोखरा–दिल्ली मार्गमा पनि नियमित उडान विस्तार गर्ने लक्ष्य कम्पनीले राखेको छ ।
यस्तै, भैरहवास्थित गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा भने जजिरा एयरवेज र थाई एयर एसियाले पुनः उडान सुरु गर्ने भएका छन् । थाई एयर एसियाले अक्टोबर २६ देखि हप्तामा दुई उडान गर्ने गरी तयारी गरेको छ भने जजिराले पनि ‘विन्टर सिजन’मा उडान गर्ने योजना बनाएको छ ।
हाल भैरहवामा नेपाल एयरलाइन्सले नियमित उडान गर्न नसके पनि चार्टर्ड उडान भइरहेका छन् । प्राधिकरणले जजिरा र थाई एयर एसियाको पुनः आगमनले अन्य विदेशी वायुसेवा कम्पनीलाई समेत आकर्षित गर्ने विश्वास लिएको छ ।
सरकारले पोखरा र भैरहवाबाट हुने अन्तरराष्ट्रिय उडानलाई प्रोत्साहन गर्न आकर्षक छुट सुविधा उपलब्ध गराएको छ । यी दुई विमानस्थलमा पार्किङ, ल्यान्डिङ र न्याभिगेसन शुल्क पूर्ण छुट दिइएको छ भने नेपाल एयरलाइन्सको ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुट गरिएको छ ।
२०७९ पुस १७ गते उद्घाटन गरिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा हाल नियमित अन्तरराष्ट्रिय उडानको संख्या न्यून भए पनि छिट्टै सिचुवान, भुटान एयरलाइन्स र हिमालय एयरलाइन्सको सेवा विस्तारसँगै विमानस्थल चलायमान हुने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया