काठमाडौं । सरकारले विभिन्न २० वटा औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह तथा पेट्रोलियम पाइपलाइन र निजी क्षेत्रबाट सञ्चालन हुने केबुलकार आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को यही भदौ ९ गतेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल सरकारबाट घोषणा भएका ती आयोजनासम्बन्धी निर्णयको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको जानकारी दिए ।
मन्त्रिपरिषद्ले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० तथा सर्वोच्च अदालतको आदेशबमोजिम सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार तथा जवाफदेही बनाउन सात दिनको म्याद दिइ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणका लागि सार्वजनिक रूपमा आह्वान गर्ने निर्णय गरेको छ ।
बैठकले तोकिएको अवधिमा सूचीकरण हुन नआउने वा सूचीकरणका लागि सम्पर्कमा नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपालभित्र निष्क्रय गराउन र सूचीकरण गरेमा सोही क्षणबाट ती सामाजिक सञ्जाललाई पुनःसक्रिय गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत नेपाल दुरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको छ ।
सरकारले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गरेको छ ।
सरकारले नेपाली सेनाका चार जना उपरथीको सरुवा गर्ने तथा एक जनालाई उपरथीमा, एक जनालाई सहायक रथीमा र एक जनालाई महासेनीमा बढुवा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्ले भदौ १६ गतेदेखि १८ गतेसम्म कोरियाको सिओलमा हुने ग्लोवल ग्रीन ग्रोथ इन्स्टिच्युटसँगको सम्झौता हस्ताक्षर कार्यक्रममा सहभागी हुन वन तथा वातावरण मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रलाई स्वीकृति दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया