रौतहटमा बरामद चिनी गायब प्रकरण : डीएसपी लामापछि गणपति र अर्का डीएसपीलाई पनि मुख्यालय झिकाइयो 

लोकपथ
8k
Shares

काठमाडौं । रौतहटमा बरामद भएको ६ सय बोराभन्दा बढी चिनी गायब बनाइएको प्रकरणमा नम्बर ११ गणका गणपति सन्तोष बस्नेतलाई पनि सशस्त्र प्रहरी मुख्यालय बोलाइएको छ ।

यस्तै, सुरक्षा बेस सन्तपुर, रौतहटका डीएसपी राजेन्द्र बस्नेतलाई पनि मुख्यालय बोलाइएको छ । उनीहरू यो घटनाबारे सुरुमै जानकार रहेको खुलेपछि मुख्यालय बोलाइएको हो ।   

यो प्रकरणमा यसअघि गणपति बस्नेतलाई बाहिनी कार्यालयले ध्यानाकर्षण मात्र गराएको थियो । यस्तै,  इन्स्पेक्टर गणेशकुमार बोहरा र इन्स्पेक्टर दधिराम पौडेललाई पनि बाहिनी कार्यालयले ध्यानाकर्षण गराएको थियो ।

यो प्रकरणमा सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) अमर लामालाई भने यसअघि नै मुख्यालय बोलाएर अनुसन्धान जारी राखिएको छ । 

घटनामा प्रत्यक्ष जोडिएको भन्दै डीएसपी लामालाई सशस्त्र मुख्यालय झिकाइएको थियो । जिम्मेवारी खोसेर सशस्त्र प्रहरीले उनीमाथि आन्तरिक छानबिन अघि बढाएको छ ।

चिनी गायब बनाइएको प्रकरणमा यसअघि १७ जनालाई नम्बर २ बाहिनीको कार्यालय बर्दिबास बोलाएर आन्तरिक छानबिन अघि बढाइएको थियो । 

यो प्रकरणमा इन्स्पेक्टर रामचन्द्र लागेजुलाई बाहिनीबाट नसियतसमेत दिइसकिएको छ ।

हेडक्वार्टर तानिएका लामा करिब ४ महिनाअघि मात्रै रौतहट पुगेका थिए । उनी यसअघि पनि रौतहटको बोर्डर आउट पोस्ट (बीओपी)मा बसेका थिए ।

रौतहटको गरुडा नगरपालिकास्थित शिवनगरमा रहेको उपेन्द्र सहनीको घरमा भन्सार छलेर ल्याइएको ७०० बोराभन्दा बढी चिनी भण्डारण गरिएको पाइएको र चिनी भण्डारण गरिएको ठाउँ प्रस्तावित सीमा सुरक्षा गुल्म गौरको एरियामा पर्ने भएकाले सोही गुल्मका डीएसपी अमर लामालाई अवैध चिनी भण्डारण गरेर राखिएको ठाउँमा छापा मार्न निर्देशन दिइएको थियो । साउन २९ गते राति डीएसपी लामाको टोलीले सहनीको घरमा छापा मारेको थियो । ७०० बोरा बरामद गरिएकोमा १०६ बोरा मात्रै भन्सार कार्यालयमा बुझाइएको खुलेपछि उनीहरूमाथि एक्सन लिइएको हो । 

१०६ बोरा चिनीसँगै ९ बोरा सिमेन्ट, १० बोरा मल, लुगा धुने सर्फ ९ बोरा पनि बरामद गरेर बुझाइएको भन्सारको रेकर्डबाट नै खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?