सर्वोच्चले भन्यो– ‘पशुपतिमा नागा बाबाको नग्नता अश्लीलता होइन, परम्परा हो’ [पूर्णपाठ]

लोकपथ
952
Shares

काठमाडौं । सर्वोच्च अदालतले महाशिवरात्री पर्वका अवसरमा पशुपतिनाथ क्षेत्रमा साधु यानेकी नागाबाबाहरुले नाङ्गै बस्ने परम्परालाई अश्लीलता भन्न नमिल्ने ठहर गरेको छ । नागा बाबाहरु शिवरात्री पर्वको धार्मिक आस्था र सनातन परम्पराको अभिन्न अंग भएको भन्दै त्यसलाई रोक्न नमिल्ने आदेश सर्वोच्चले गरेको हो ।

अधिवक्ता यज्ञमणी न्यौपानेले विश्वका हिन्दूहरुको पवित्र स्थल पशुपतिमा नागा बाबाहरुको कारण अश्लीलता फैलिएको भन्दै त्यसलाई रोक्न माग गरेका थिए । एकवर्ष अघि अर्थात् २०८१ साल भदौ २७ गते नै सर्वोच्चका न्यायाधीशद्वय डा. कुमार चुँडाल र डा. नहकुल सुवेदीको संयुक्त इजलासले उक्त रिट खारेज गर्दै यस्तो आदेश दिएका थिए । मंगलबार त्यसको पूर्णपाठ जारी गर्दै सर्वोच्चले नाङ्गो हुनु र अश्लील हुनु फरक विषय रहेको फैसला गरेको हो ।

अधिवक्ता न्यौपानेले पशुपति क्षेत्रमा नागाबाबाहरुले सार्वजनिक स्थलमा आफ्नो गोप्य अंग प्रदर्शन गरी नाङ्गै बस्ने जस्तो क्रियाकलापले महिला तथा बालबालिकामाथि यौन हिंसा र मनोवैज्ञानिक असर परेको भन्दै रोक्न माग गरेका थिए । उनले साधुहरुलाई नेपाल प्रवेशमा रोक लगाइ सरकारी कोषबाट रकम दिन समेत बन्द गर्न परमादेश जारी गर्न माग गर्दैै रिट दायर गरेका थिए ।

‘नग्नता बस्त्रविहीन शारीरिक अवस्था हो । अश्लीलताले यौनिक उत्तेजना प्रवर्धन गर्छ र त्यो सामाजिक र सांस्कृतिक रुपमा लाजमर्दो र आपत्तिजनक हो’ न्यायाधीशहरु डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको इजलासले फैसलाको पूर्णपाठमा भनेको छ, ‘कला, संस्कृति, शैक्षिक उद्देश्य, चिकित्सकीय वा उपचार प्रयोजनका लागि यौनांग देखाउनुलाई अश्लीलता मान्न नसकिने ।’

त्यसैगरी सर्वोच्चले बस्त्र त्याग गर्नु लज्जा र अहंकारको पनि त्याग हुने भन्दै त्यसलाई आफैँमा मोक्ष प्राप्तिका लागि कडा तपस्या भनि व्याख्या गरेको छ । सनातन हिन्दु परम्पराको अभिन्न अंगको रुपमा नागा अभ्यास रहेको भन्दै सर्वोच्चले व्याख्यामा भनेको छ, ‘शिवको आराधान गर्ने विशेष पर्वमा नागाहरुलाई पशुपतिमा निषेध गर्नु यससम्बन्धी आस्था, विश्वास र सनातन परम्परा विपरीत हुने देखियो ।’

सरकारले हरेक वर्ष शिवरात्रीका लागि पशुपतिमा आउने साधुहरुलाई दक्षिणासहित बिदा गर्दै आइरहेको थियो ।

सर्वोच्चले थप भनेको छ,
महाशिवरात्रिको अवसरमा भारत लगायत संसारका विभिन्न मुलुकहरूबाट दर्शनार्थी भक्तजन भगवान् पशुपतिनाथको दर्शनका लागि आउने र सो क्रममा नागा साधुहरूसमेत आउने परम्परा सदियौंदेखि रही आएको देखिन्छ । श्री पशुपतिनाथ मन्दिरमा महाशिवरात्री पर्व मनाउने आफ्नो विशेष परम्परा गरेको देखिन्छ । सो क्रममा नागा सन्यासी साधुहरू शरीरमा कुनै वस्त्र धारण नगरी गोप्य अङ्गसमेत नछोपी शरीर भरी खरानी घसी अग्नीको उपासना गरी धुनी जगाई बस्ने गरेको भन्ने विपक्षीहरूको लिखित जवाफबाट देखिए तापनि उक्त कृत्य सनातन धार्मिक अभ्यास र परम्परा बमोजिमको रहेको देखिएको र नागा साधुहरू मन्दिर परिसरमा नाङ्गै रहनुलाई सामाजिक र नैतिक स्वीकार्यताको दृष्टिले समेत अन्यथा नदेखिएको स्थितिमा निजहरूले अश्लीलताको प्रदर्शन गरेको भन्न मिलेन । मेला व्यवस्थापनका क्रममा विपक्षी पशुपति क्षेत्र विकास कोषले नागा साधुहरूलाई खास स्थान वा क्षेत्र तोक्न सक्ने देखिए तापनि निजहरूलाई भगवान् पशुपतिनाथ मन्दिरको परिसरमा प्रवेश नै निषेध गर्दा सनातनदेखि चलिआएको परम्परा नै हस्क्षेप हुन जाने सुरकाले नागा साधुहरूलाई पशुपतिनाथ क्षेत्र परिसरमा प्रवेश गर्न निषेध गरिनुपर्ने भन्ने निवेदन जिकिरसँग सहमत हुन सकिएन । साथै, यसरी आउने साधु सन्त जोगी आदिलाई सामान्य दक्षिणा दिई विदाई गर्नु हाम्रो धार्मिक र सामाजिक संस्कार र परम्परासमेत भएको हुँदा सो परम्परालाई समेत रोक्नुपर्ने भन्ने निवेदन जिकिरको पनि तर्कसम्मत आधार देखिएन । सो अवसरमा कसैले कानूनले निषेध गरेको कुनै कामकारवाही गरेमा कानूनबमोजिम कारबाही हुन सक्ने नै हुँदा नागा साधुहरूले कानून विपरीतको कार्य समेत गर्ने गरेका भनी निजहरूको प्रवेश निषेध गर्नुपर्ने सम्मको निवेदन माग बमोजिमको आदेश जारी गर्नुपर्ने अवस्था देखिएन ।

पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?