उखु किसानको आन्दोलनमा बाबुराम र नारायणकाजीको समर्थन, गरे सरकारको आलोचना

लोकपथ
210
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले आन्दोलनरत उखु किसानहरुको आन्दोलनलाई समर्थन जनाएका छन् ।

मंगलबार काठमाडौंको माइतीघर मण्डलामा पुगेर उनले उखु किसानका मागहरु जायज रहेको भन्दै समर्थन जनाएका हुन् । उनले उखु किसानलाई दिने भनिएको अनुदान सरकारले एक्लौटी निर्णयबाट कटौती गरेको भन्दै सरकारको आलोचना गरे । उनले उखु किसानलाई दिने भनिएको अनुदान घटाएको तथा घटाएको अनुदान मूल्य समेत समयमै उपलब्ध नगराएर सरकारले किसानहरुमाथि अन्याय र ठगी गरेको आरोप लगाए । उनले आन्दोलनरत किसानहरुलाई आफ्ना जायज मागहरुप्रति एकताबद्ध भएर अडिग रहन समेत आग्रह गरे ।

उनले भने, ‘लामो समयको आन्दोलनपछि किसानहरुलाई प्रतिक्विन्टलमा ७० रुपैयाँका दरले किसानहरुलाई अनुदान दिने कुरा भएको थियो । त्यो पनि किसानहरुको ठूलो आन्दोलनको कारणले हो । त्यो घटाएर ३५ रुपैयाँ पुर्याउने अनि त्यो पनि समयमा नदिने अरे । अनि सरकारले एक्लौटी गर्न मिल्छ ? यो त किसानहरुमाथि बद्मासी र ठगी भएन ? त्यसकारण किसानहरुको यो अभियान जायज छ । तर यसरी तपाईहरु मेहेनत गर्ने किसानहरु यहाँ आएर संघर्ष गर्नु दुःखद् छ । सबै घरपरिवार र वस्तु भएपनि हेर्नुपर्ने हुन्छ । जनतासँग जोडिराख्नुपर्छ । नत्र बिर्सिन्छन् भनेर यहाँ आएको हो । नत्र बालुवाटार गएर प्रधानमन्त्रीलाई भेट्थे नि । तपाईहरु दरोसँग उभिन आग्रह गर्दछु । किसान एकता महत्वपूर्ण कुरा हो ।’

त्यस्तै नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि माइतीघर पुगेर किसानहरुको मागबारे ऐक्यबद्धता जनाएका छन् ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले उखु किसानका माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरे ।

उनले कृषिमन्त्री, अर्थमन्त्री र प्रधानमन्त्रीसँग किसानलाई विरोध र धर्नाको कार्यक्रममा बस्नुपर्ने स्थितिको अन्त्य गर्न आग्रह गरे ।

किसानले उखुमा पाउँदै आएको प्रतिक्वीन्टल ७० रुपैयाँ अनुदानलाई निन्तरता दिने घोषणा गरेर तत्काल भुक्तानीको व्यवस्था मिलाउन पनि सरकारसँग आग्रह गरे ।

उनले भने, ‘सरकारलाई म भन्न चाहन्छु, कृषिमन्त्रीज्युलाई, अर्थमन्त्रीज्युलाई र प्रधानमन्त्रीज्युलाई यहाँ धेरै दिन, अब एकदिन पनि उखु किसानलाई यो विरोध र धर्नाको कार्यक्रममा बस्नुपर्ने स्थितिको अन्त्य गर्नुपर्‍यो । छिटो भन्दा छिटो यथावत पहिला जत्तिकै ७० रुपैयाँ प्रतिक्वीन्टल अनुदान दिने घोषणा गरेर त्यसलाई तुरुन्तै भुक्तानीको व्यवस्था मिलाउन म जोडदार माग गर्न चाहन्छु । र साथसाथै उखुको न्युनतम मुल्यलाई पनि वृद्धि गर्न पर्ने आवश्यकत्ता छ, त्यसतिर पनि सरकारको विशेष ध्यान जाओस् ।’

मधेस प्रदेशसहित देशभरका उखु किसानले सरकारले तोकेको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान कायम गर्न तथा वक्यौता रकम भुक्तानी गर्न माग गर्दै आन्दोलन गर्दै आएका छन् । आर्थिक वर्ष २०८१–८२ को उखुको भुक्तानी रकम माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?