काठमाडौं । नेकपा एमालेकी नेतृ विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति आफ्नो सद्भाव रहेको बताएकी छन् ।
मंगलबार रास्वपाका सांसद समेत रहेका प्रवक्ता मनिष झासँगको भेटमा पूर्वराष्ट्रपति समेत रहेकी भण्डारीले सो कुरा बताएकी हुन् ।
झासहितका केही नेताहरु आज बिहान भण्डारीलाई भेट्न बूढानिलकण्ठस्थित निवासमै पुगेका थिए । सो क्रममा १० बजेदेखि साढे ११ बजेसम्म कुराकानी भएको प्रवक्ता झाले बताए । उनले कुनै विशेष राजनीतिक एजेण्डा भन्दा पनि राजनीतिक संवादको सुरुवात स्वरुपको भेटघाट भएको बताए ।
‘आज बिहान उहाँको निवासमा १० बजेदेखि साढे ११ बजेसम्म लगभग डेढ घण्टा को कुराकानी छलफल भयो,’ उनले भनेका छन्, ‘एउटा राजनीतिक शिष्टाचार भेटघाट थियो कुनै विशेष एजेन्डा भन्दा पनि राजनीतिक संवादको सुरुवात स्वरूपको भेटघाट थियो ।’
त्यस्तै वर्तमान असाधारण राजनीतिक अवस्था बारेमा उहाँको सरोकार र यसको समाधानको आवश्यक पहलबारे छलफल भएको उनले बताए ।
सो क्रममा भण्डारीले लामिछानेप्रति आफ्नो सद्भाव रहेको बताउँदै सहकारीको विषय समाधान गर्नुको साटो अनावश्यक मुद्दाहरु राखिएको बताएको झाको भनाइ रहेको छ ।
‘सहकारीको विषयमा समाधान गर्नुको साटो यसलाई अनावश्यक राजनीतिक मुद्दा बनाएको प्रति उहाँले सरोकार राख्नुभयो र रवि प्रति सद्भाव छ भन्नुभयो,’ भण्डारीको भनाइलाई उद्धृत गर्दै उनले भनेका छन् ।
साथै नयाँ पुस्ता राजनीतिमा आउनु राम्रो रहेको बताउँदै त्यसप्रति अभिभावकको भूमिका निर्वाह गर्न आफू तयार रहेको नयाँ पुस्तालाई राजनीतिमा सघाउन तयार रहेको समेत बताएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया