काठमाडौं । ज्योति समूहको स्वामित्वमा रहेको भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्सले कर छली गरेको पुष्टि भएको छ । राजश्व न्यायाधिकरण काठमाडौंले भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्सले कर छली गरेको पुष्टि गर्दै फैसला सार्वजनिक गरेको हो ।
राजश्व न्यायाधिकरण काठमाडौंका अध्यक्ष न्यायाधीश ब्रजेश प्याकुरेल र सदस्य लेखा सदस्य वासुदेव खनालको इजलासले गत वर्षको चैत १२ गते फैसलाको पूर्ण पाठ भर्खरै सार्वजनिक भएको हो । फैसलाको पूर्ण पाठमा भाजुरत्नले ५१ लाख ६२ हजार रुपैयाँभन्दा बढी कर छली गरेको पुष्टि गरेको छ भने केही कर पुनः निर्धारण गर्न ठुला करदाता कार्यालयलाई निर्देशन दिएको छ ।
ज्योति समूहका रूप ज्योतिको कम्पनी भाजुरत्न सेल्स एन्ड इन्जिनियरिङले मुख्यतः ट्र्याक्टर र मोटरसाइकलको खरिद विक्री गर्ने गर्छ । सोही कम्पनीले आर्थिक वर्ष २०७३।०७४ को आयकर छली गरेको भन्दै भएको कर निर्धारण र पुनरावेदनमा अदालतले कर छली भएको ठहर गरेको हो ।

उक्त आर्थिक वर्षमा भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्सले ५१ लाख ६५ हजार ८१४ रुपैयाँ ४९ पैसा कर छली गरेको पुष्टि गरेको छ भने केही रकमको पुनः कर निर्धारण गर्न ठुला करदाता कार्यालयलाई निर्देशन दिएको छ ।
भएको के थियो ?
रूप ज्योति अध्यक्ष रहेको भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्सले आर्थिक वर्ष २०७३।०७४ को कुल करयोग्य आय भन्दै १३ करोड ३१ लाख ४६ हजार ११९ रुपैयाँ ७७ पैसा करयोग्य आय रहेको भन्दै ठुला करदाता कार्यालय हरिहर भवन ललितपुरमा २०७४ पुस २९ गते आय विवरण पेस गरेको थियो । स्वयं कर घोषणा अन्तर्गत करयोग्य आय घोषणा गरी सोही आधारमा आयकर समेत तिरेको थियो ।
तर पछि ठुला करदाता कार्यालयले भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्सको कर परीक्षण गर्यो । २०७८ सालमा भएको कर परीक्षणमा भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्सको करयोग्य आय १४ करोड ४४ लाख २२ हजार ४७७ रुपैयाँ ८९ पैसा रहेको पाइयो ।
त्यसपछि ठुला करदाता कार्यालयले २०७८ असार २८ गते भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्सलाई १५ दिनको सूचना दिएर कर निर्धारणको प्रतिवेदनसहित अन्य कुनै दाबी वा प्रमाण नभए १५ दिनभित्र रकम बुझाउन भन्दै पत्र दियो ।
ठुला करदाता कार्यालयले दिएको पुनः कर निर्धारणको पत्रको जवाफ २०७८ साउन १३ गते भाजुरत्नले ठुला करदाता कार्यालयलाई आफूहरूले गरेको स्वयं कर घोषणा र त्यस अनुसार तिरेको आयकर ठिक भएको दाबी लियो ।
तर उसको दाबी चित्तबुझ्दो नभएको भन्दै ठुला करदाता कार्यालय, ललितपुरले २०७८ साउन १४ गते छली गरेको आयकर र त्यसमा लाग्ने ब्याजसमेत तिर्न निर्देशन दियो । भाजुरत्नले पेस गरेको करयोग्य आय र ठुला करदाता कार्यालयले निर्धारण गरेको करयोग्य आयमा ७२ लाख ७६ हजार ३५८ रुपैयाँ १२ पैसाको फरक आएको थियो ।
अनि पुग्यो प्रशासकीय पुनरावलोकनमा
ठुला करदाता कार्यालयले गरेको कर निर्धारणमा चित्त नबुझाई भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्स २०७८ असोज २४ गते आन्तरिक राजश्व विभागमा प्रशासकीय पुनरावलोकनका लागि गयो । तर आन्तरिक राजश्व विभागले उक्त प्रशासकीय पुनरावलोकनको निवेदनमाथि निर्णय गर्न झन्डै ३ वर्ष लगायो । विभागले २०८१ वैशाख १४ गते मात्रै ठुला करदाता कार्यालय ललितपुरले गरेको कर निर्धारण कानुनसम्मत रहेको भन्दै सुरु सदर गर्दै भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्सले आयकर छली गरेको कारण कर तिर्नुपर्ने भन्यो ।
त्यसपछि पुग्यो अदालत
आफूले पेस गरेको आय विवरण र करयोग्य आय गलत ठहराएको ठूला करदाता र प्रशासकीय पुनरावलोकनमा जाँदा पनि आफूलाई हराइदिएपछि भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्स राजश्व न्यायाधिकरणमा पुनरावेदनको रिट बोकेर पुग्यो । २०८१ साउन ३१ गते राजश्व न्यायाधिकरण पुल्चोकमा पुनरावेदन पत्र दायर हुँदा उसले मुख्यतः ट्र्याक्टरको विक्री, आयात गर्दा लागेको खर्च, मौज्दात, वारेन्टीको खर्च लगायतको खर्चमा ठुला करदाता कार्यालयले त्रुटि गरेको दाबी गरेको थियो । उसको मुख्य जिकिरमा वारेन्टी बापत ग्राहकलाई पार्ट पूर्जा तथा सर्भिसिङ्ग उपलब्ध गराउँदा करदाताले बहन गर्नु परेको भन्सार महसुल, मूल्य अभिवृद्धि कर लगायत प्रत्यक्ष खर्च रकमलाई अमान्य गर्न नमिल्ने, सर्भिसिङ्ग बापतको खर्च रकम मोटरसाइकल खरिदसँग प्रत्यक्ष सम्बन्ध भएको खर्च भएको हुँदा त्यस्तो रकमलाई खर्चमा जोड्न पाउनुपर्ने, रोयल्टी खर्च बापतको खर्च कट्टी अमान्य भएको तथा हिमाल अक्सिजनको सिलिन्डर प्रयोग गरी अक्सिजन ग्यास सप्लाई गर्दा भएको नाफा जोड्न नदिएको लगायतको जिकिर लिई पुनरावेदन गर्न पुगेको थियो ।
विभिन्न अन्य मुद्दाहरूलाई समेत समावेश गरी भएको सुनुवाइपछि राजश्व न्यायाधिकरण काठमाडौंले केही जिकिरलाई सदर गर्दै कर निर्धारण गर्न नमिल्ने भनेको छ भने दुई वटा विषयमा पुनः कर निर्धारण गर्न भनेको छ । बाँकी विषयमा भने कर छली गरेको पुष्टि गर्दै कर तिर्नुपर्ने फैसला सुनाएको छ ।
फैसलामा बुँदागतरुपमा कुन जिकिरमा कस्तो फैसला हुने भनेर छुट्टाइएको छ । जहाँ भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्सले ट्र्याक्टरको वारेन्टी क्लेममा लागत जोडेको विषयलाई वास्तविक खर्च होइन भन्दै खर्च कट्टी गर्न नपाउने फैसला सुनाएको छ । ट्र्याक्टरको वारेन्टी क्लेम अन्तर्गतको लागत खर्च उत्पादक कम्पनीले शोधभर्नाको रूपमा दिने भन्दै उत्पादक कम्पनीबाट शोधभर्ना लिनुपर्नेमा सो नगरी व्यापार मौज्दातको लागत खर्चमा दाबी गर्न नमिल्ने भन्दै त्यसबापतको ३ लाख २३ हजार १८५ रुपैयाँ ३४ लाई खर्चमा जोड्न नमिल्ने भन्दै उक्त रकमको कर तिर्नुपर्ने फैसला सुनाएको छ ।
स्टोरमा थन्किएको सामानकै ढुवानी खर्च !
भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्सले नबिकेर गोदाममै थन्किएको ट्र्याक्टरको समेत ढुवानी खर्च जोडेर क्लेम गरेको पाइएको थियो ।
भाजुरत्नले त्यस आर्थिक वर्षमा कुल ढुवानी बिमा र क्लियरिङ खर्च भनी ३ करोड ६४ लाख ७९ हजार २७० रुपैयाँ खर्चमा देखाएको थियो । तत्कालीन समयमा मोटरसाइकल र ट्र्याक्टर यातायात कार्यालयमा दर्ता गर्दा खर्च गरिएको रकम भनेर उक्त रकम खर्चमा देखाइएको थियो ।
तर भाजुरत्नको गोदाममै ६४ वटा ट्र्याक्टर मौज्दात रहेको थियो तर उक्त ट्र्याक्टरको खर्च प्रति ट्र्याक्टर ६ हजार रुपैयाँका दरले ३ लाख ६० हजार रुपैयाँ देखाएर आयकर छलिएको थियो । तर हुँदै नभएको खर्च देखाएको भन्दै ठुला करदाता कार्यालयले गरेको कर निर्धारणलाई राजश्व न्यायाधिकरण काठमाडौंले समेत सदर गर्दै कर छल्नकै लागि खर्च देखाइएको ठहर गरेको छ ।
त्यसै गरी फैसलामा क्लियरिङ खर्च भनी देखाएको २ लाख ४० हजार २४० रुपैयाँलाई पनि अमान्य ठहर गरेको छ । उक्त रकम खर्चमा देखाउँदा करयोग्य आयमा असर गर्ने भन्दै उक्त रकममा पनि आयकर तिर्नुपर्ने फैसला सुनाएको हो ।
त्यसै गरी प्रि डेलिभरी इन्सपेक्सन अर्थात् पिडिआई खर्चका रूपमा राखिएको १६ लाख १० हजार ४३१ रुपैयाँ १५ पैसालाई पनि अमान्य घोषित गरेको छ । भाजुरत्नले दाबी गर्न पहिले दाबी नगरेको उक्त रकम पनि पछि दाबी गरेको र कर निर्धारण भइसकेपछि दाबी गर्न नमिल्ने भन्दै उक्त रकम पनि करयोग्य आयमा नै समावेश गरी कर तिर्नुपर्ने फैसला सुनाएको हो ।

त्यस्तै राजश्व न्यायाधिकरणको फैसलामा भाजुरत्नले ट्र्याक्टरमा हुड थप गरेको र त्यसको खर्च लागतमा गणना गर्न पाउनुपर्ने भन्दै पुनरावेदन गरेको थियो । वास्तवमा भाजुरत्नले अन्तिम मौज्दातको मूल्यांकन गर्दा उक्त खर्च समावेश नगरेको कारणले व्यापार मौज्दातको लागत खर्च बढी दाबी हुन गएको देखिन आएकोले अन्तिम मौज्दातको मूल्यांकनमा कम भई उक्त रकम बराबरको १४ लाख ३९ हजार ६४६ रुपैयाँ व्यापार मौज्दातको लागत खर्चमा बढी लेखांकन भएको भन्दै कर निर्धारण गरेको थियो ।
तर अदालतले व्यापार मौज्दातको लागत खर्चमा बढी लेखांकन हुँदा कर दायित्वमा असर पर्न जाने भन्दै कर परीक्षणका बखत कर निर्धारण भएको रकम कानुनसम्मत नै रहेको ठहर गरेको हो ।
त्यसै गरी ट्र्याक्टरको मौज्दातमा गलत तथ्यांक दिएर १० लाख ४८ हजार ५४७ रुपैयाँ खर्चमा देखाएको, टायर इम्पोरियमसँगको कारोबारमा बढी खरिद देखाएर ४८ हजार ९९९ रुपैयाँ छली गरेको, खरिदमा मिसम्याच भएको ९४ हजार ७६६ रुपैयाँ ८२ पैसा पनि खर्चमा देखाएकामा अमान्य घोषित गरेको छ ।
यसरी करयोग्य आय भनी देखाएको आय व्यय विवरण गलत भएको र कर छली भएको भन्दै राजश्व न्यायाधिकरणले भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्सलाई छली भएको आयकर र त्यसमा लाग्ने जरिवाना तथा ब्याज तिराउने गरी ठुला करदाता कार्यालयबाट भएको अधिकांश निर्णय सदर गरेको छ ।
कस्तो कम्पनी हो भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्स ?
भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्स ट्रेडिङ कम्पनी हो जसले मुख्यतः ट्र्याक्टर लगायतका कृषि सामाग्रीको आयात र विक्री वितरण गर्ने कम्पनी हो । कम्पनीको वेबसाइटमा उल्लेख भएको तथ्यांक अनुसार यो कम्पनी ज्योति ग्रुप अन्तरगतकै कम्पनी हो जसले मोटरसाइकलदेखि हिमाल स्टिलसमेतको उत्पादन र विक्री वितरण गर्ने गर्छ ।
स्याकार कम्पनीका रूपमा रहेको यो कम्पनीले पहिले हिरो कम्पनीको मोटरसाइकल समेतको विक्री वितरण गर्ने गरेकामा अहिले उक्त कम्पनीको आधिकारिक विक्रेता खोसेर सिजी मोटर्सको हातमा पुगेको छ ।
अहिले ज्योति ग्रुपले हिमाल स्टिल, स्याकार कम्पनी, हिमाल अक्सिजन, जय स्पिनिङ मिल्स, भाजुरत्न फर्मा, भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्स, स्यामुकापु ट्रेडिङ, ग्रान्डी सिटी क्लिनिक र सुरुजी ट्राभल एन्ड टुर्स सञ्चालन गरिरहेको छ । यही कम्पनीले फिलिप्सको विद्युतीय सामाग्रीहरू आयात तथा विक्री वितरण गर्दै आएको छ भने अहिले जोनसेन नामक चिनियाँ मोटरसाइकल र इलेक्ट्रिक स्कुटरहरू समेत आयात गरी विक्री वितरण सुरु गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया