काठमाडौं । उप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनकी प्रथम महिला नेतृ मंगलादेवी सिंहले नेपालमा महिलालाई मतााधिकार दिलाउन र शिक्षामा महिलाको पहुँच विस्तार गर्न महत्वपूर्ण भुमिका खेलेको बताएका छन् ।
मंगलादेवी सिंहको २९औँ स्मृति दिवसमा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
मंगलादेवी सिंहले उनको जीवनकालमा प्रजातान्त्रिक मूल्य र मान्यता प्राप्त गर्न, लोकतान्त्रिक पद्धतिलाई अगाडी बढाउने कार्यमा गरेको योगदानलाई स्मरण गरिएको छ ।
उपप्रधानमन्त्ती सिंहले शोभा भगवती र बबरमहलमा रहेको मंगलादेवी ज्येष्ठ नागरिक स्मृति पार्कमा पुगेर सिंहको प्रतिमामा माल्यार्पण गरे ।
महिला अधिकारको लागि आवाज उठाउन मंगलादेवी सिंहले २००४ सालमा महिलाहरुलाई संगठित गर्नको लागि नेपाल महिला संघको स्थापना गरेकी थिइन् । महिला संघले स्थापनाकालदेखि नै महिलाहरुलाई पनि पुरुष सरह अधिकार दिनुपर्ने काम राख्दै आएको उपप्रधानमन्त्री सिंहले बताए ।
मंगलादेवी सिंह नेतृत्वको महिला आन्दोलनले महिलाहरुले पढ्न पाउने, मताधिकारको अधिकार पाउने अवस्थाको निर्माण भएको उपप्रधानमन्त्री सिंहले स्मरण गरे ।
उनले भने, ‘राणाहरुको जहाँनिया शासन चलिरहेको बेलामा १०४ वर्षको जहाँनिया राणा शासन समाप्त गर्नको लागि राजनितिक गतिविधि शुरु भइसकेको थियो । त्यही समयमा मंगलादेवी सिंहज्युले २००४ सालमा महिलाहरुको हकहित अधिकारको आवाजलाई सम्बन्धित निकायमा पुर्याउनको लागि एक/दुई जनाले मात्रै कराएर, विचार राखेर नहुने यसलाई संगठित रुपले लाग्नुपर्ने, संगठनको माध्यमबाट महिलाहरुको हकहितको आवाजलाई बुलन्द गर्नुपर्छ भनेर उहाँले २००४ सालमा राणाहरुको जगजगी चलिरहेको बेलामा, महिलाहरु घरबाट बाहिर निस्कन गाह्रो हुने परिस्थितिमा उहाँले महिलाहरुको भेला गरेर उहाँले नेपाल महिला संघको स्थापना गर्नुभएको थियो । नेपाली महिलाहरुलाई संगठित गर्नको लागि महिला संघको गठन गर्नुभयो, त्यो गठन गरेको कारणले पनि नेपाली समाजमा महिलाहरुको विषयलाई लिएर, मुद्दालाई लिएर नेपाल महिला संघले शुरुदेखि नै समाजलाई अगाडी बढाउनको लागि पुरुषले मात्रै महिलाहरुको पनि भुमिका रहनुपर्छ । पुरुषसरह महिलाहरुको पनि हकअधिकार हुनुपर्छ । त्यसबखत दरबार हाई स्कुल एउटा मात्रै थियो, त्यहाँ छोरीहरुले पढ्न पाउँदैन थियो । उहाँले पद्मसमशेरकहाँ जुलुस लगेर छोरीहरुले पनि पढ्न पाउनुपर्यो, स्कुल हुनुपर्यो भनेर आवाज उठाएपछि पद्मकन्या स्कुल गठन भएको हामीले स्मरण गर्नुपर्छ । महिलाहरुलाई शिक्षाबाट, उज्यालो घामबाट वञ्चित गर्न हुँदैन, पढ्न पाउने अधिकार छोरीहरुलाई पनि हुनुपर्छ भनेर भन्ने कुरालाई उहाँले जोड दिएको हो । त्यतिमात्रै नभएर त्यतिबेला नगरहरुको निर्वाचनमा महिलाहरुलाई मताधिकार पुरुषसरह हुनुपर्छ भनेर दबाबको रुपमा जुलुस निकालेर महिलाहरुको जुलुसले गर्दा तत्कालिन सरकारले महिलाहरुलाई मताधिकार दिलाएको हो ।’
मंगलादेवी सिंहले महिलाहरुलाई पैतृक सम्पतीमा पुरुषसरह हक हुनुपर्ने, राज्यका नीति निर्माण गर्ने तहमा महिलाहरुको उचित स्थान हुनुपर्ने, आमाको नाममा नाकरिकता लिन पाउनुपर्ने लगायतका आवाज उठाएकी थिइन् ।
मंगलादेवी सिंहको योगदानको बारेमा आगामी पुस्तालाई जानकारी गराउन आवश्यक रहेको उपप्रधानमन्त्री सिहंको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया