काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरीको नेतृत्व सम्हालेदेखि नै मातहतका निकाय र प्रमुखलाई निरन्तर भन्दै आएका छन्– ‘सीमा क्षेत्रबाट हुने चोरीनिकासी पैठारी र अवैध आवतजावत रोक्नका लागि थप कडाइ गर्नु ।’
उनले यो पनि भन्दै आएका छन्– ‘सीमा इलाकामा हुने अवैध चोरी तस्करी नियन्त्रणका लागि मुख्यालयले समेत सूक्ष्म रूपमा निगरानी गरिरहेको छ, गरिरहने छ । त्यसमा कतै कमीकमजोरी देखिएमा वा शंका लाग्नासाथ कुनै पनि कमान्डरलाई छानबिन र कारबाहीको भागिदार बनाइने छ ।’
कमान्ड सम्हाल्न जाने अधिकृतहरूलाई गरिने ब्रिफिङमा त आईजीपी अर्याल झन् कडारुपमा प्रस्तुत हुने गरेका छन् ।
अर्याल सशस्त्र प्रहरी महानिरीक्षक बनेको ४० महिना बितिसकेको छ । सशस्त्र प्रहरी नियमावली–२०७२ अनुसार उनी अब ८ महिना मात्रै सशस्त्रको नेतृत्वमा रहन्छन् । बीचैमा ऐन आए त्यति समय पनि उनीसँग छैन ।
सशस्त्र प्रहरीमा स्वच्छ छवि बनाएका र कुनै विवादमा नपरेका महानिरीक्षक अर्याल मातहत निकायमा खटिने कमान्डरहरू आफूजस्तै स्वच्छ छवि बनाएर काम गरोस् भन्ने चाहन्छन् । कुनै पनि विवादमा नमुछियोस्, राष्ट्र र जनताका लागि काम गरोस् भन्ने चाहन्छन् ।
तर सीमा क्षेत्रबाट हुने चोरीनिकासी पैठारी र अवैध आवतजावत रोक्नका लागि जति कडाइ गर्न निर्देशन दिएपनि, कमान्डरलाई छानबिन र कारबाहीको भागीदार बनाउने चेतावनी दिएपनि मातहतका अधिकृतहरूले एउटा कानले सुन्ने, अर्को कानले उडाउने गर्दै आएका छन् । बल्ल बल्ल पाइने कमान्डमा मस्ती नगरे कहिले गर्ने भन्ने सोच उनीहरूमा बढ्दै गएको पाइएको छ ।
सशस्त्र प्रहरीको नम्बर ३ गण मोरङका गणपति राजेश घिमिरेले भने बर्दीको आडमा खुलेआम तस्करी गर्दै आएका छन् । आईजीपी अर्यालको निर्देशनलाई उनले खुलेआम चुनौती दिइरहेको उनका गतिविधिले पुष्टि गर्छ ।
उनको कर्तुतबारे सशस्त्र प्रहरीको मुख्यालयमा पनि उजुरी आइसकेको छ ।
फागुन पहिलो सातादेखि सो गणको कमान्ड सम्हालेका सिसं ३ सशस्त्र प्रहरी निरीक्षक बेसिकका एसपी घिमिरेको काम अहिले सीमा नाकाबाट तस्करी गराउनेमा मात्र केन्द्रित भएको स्रोतको दाबी छ । केही समयअघि दरैया नाकाबाट ठूलो मात्रामा कपडा तस्करी भएपछि यस्तो तथ्य बाहिर आएको हो ।

अहिले मोरङको रानी, बरडंगा, सोराभाग, धनापट्टि, रंगेली, तारिगामा, नोचा, सिक्टी, डोरियालगायत सबै नाकाबाट हार्डवेयर, कपडा, किराना सामान, कस्मेटिक आदिको व्यापक मात्रामा तस्करी भइरहेको स्रोतको दाबी छ । जसरी पनि कमाउनु पर्छ भन्ने एसपीको कार्यले सीमानाका तस्करीको अखडा बन्दै गएको स्थानीयहरू बताउँछन् । विशेषगरी रातको समयमा ट्याक्टर, जिप, साइकल प्रयोग गरेर तस्करी हुने गरेको बताइन्छ ।
गृहमन्त्रीले नै पोखेका थिए असन्तुष्टि
पछिल्ला दिनमा कोशी प्रदेशको सिमानाकाबाट व्यापकरुपमा तस्करी बढेपछि गृहमन्त्री रमेश लेखकले सार्वजनिक कार्यक्रमबाटै असन्तुष्टि पोखेका थिए । कञ्चनपुर घर भएका गृहमन्त्री लेखकले गत बैशाख अन्तिममा गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू तथा कोशी प्रदेशका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरूको सहभागिता रहेको सुरक्षा गोष्ठीमै असन्तुष्टि मात्रै पोखेका थिएनन् सम्बन्धित सुरक्षा निकायलाई परिणाम देखिने गरी काम गर्न कडा निर्देशनसमेत दिए । उनले तस्करी नियन्त्रणमा ३० दिनभित्र ‘अनुभूति हुनेगरी’ काम गर्न निर्देशन दिएका थिए ।
गृहमन्त्री लेखकको भनाइ थियो, ‘तस्करीले अपराध बढाएको छ, राजस्व घटाएको छ, मुलुकमा नकारात्मक असर गरेको छ, तस्करी तुरुन्त रोक्नुपर्छ, होइन भने गृह मन्त्रालयले अर्को एक्सन लिन्छ ।’
सिमानाकाबाट हुने तस्करी नियन्त्रणको पहिलो जिम्मेवारी सशस्त्र प्रहरीको हो । तर कोशी प्रदेशमा कार्यरत सशस्त्रकै जिम्मेवार अधिकृतले तस्करसँग मिलेर कमाउधन्दालाई तीव्रता दिएपछि संगठन सुधारमा निष्कलंक छवि बनाएका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पनि त्यसको अपजस बेहोर्नु परिरहेको छ । फलतः त्यसबेला सशस्त्र मुख्यालयले मोरङस्थित प्रस्तावित सीमा गुल्म रानीका डीएसपी ऋषिकेश राउतलाई नम्बर १ बराह बाहिनी पकली, सुनसरीमा फिर्ता बोलाएर नयाँ गुल्मपतिका रूपमा अमरबहादुर खत्रीलाई पठाएको थियो । गुल्मपति राउतको अवैध धन्दा र तस्करसँगको साँठगाँठको विषयमा लोकपथ डटकमले समाचार प्रसारण गरेको भोलिपल्टै उनलाई नम्बर १ बराह बाहिनीमा फिर्ता बोलाइएको थियो । डीएसपी राउत प्रस्तावित सीमा गुल्म रानीमा गएको पाँच महिना मात्रै भएको थियो । उनको तस्करी धन्दाबारे पटक पटक मुख्यालयमा उजुरीसमेत परेको थियो ।
के डीएसपी राउतकै कारण मात्र कोशी प्रदेशको सिमानाकाबाट व्यापकरुपमा तस्करी बढेको थियो त ? उनलाई मात्रै लिएर गृहमन्त्री लेखकले सार्वजनिक कार्यक्रमबाटै असन्तुष्टि पोखेका हुन् त ? स्रोत भन्छ : ‘पक्कै होइन ।’
राउत गुल्मपति रहेको प्रस्तावित सीमा गुल्म रानी नम्बर ३ गण मातहतकै हो । यो गण र गुल्म भएको कार्यालयको दूरी पनि धेरै छैन ।
एसपी घिमिरे मोरङकै स्थानीय, सामान्यतः सुरक्षा संगठनमा स्थानीयलाई कमान्डको जिम्मा दिइँदैन
लोकपथलाई प्राप्त सूचनाअनुसार, कोशी प्रदेशमा लामो समयदेखि सिमानाकाबाट व्यापक तस्करी भइरहेको छ सुरक्षा निकाय र राजनीतिक दलकै आडमा । तस्करीबाट फाइदा लिनकै लागि पछिल्ला दिनमा कोशी प्रदेशमा त्यहीँकै स्थानीय सुरक्षा अधिकारीहरूलाई सुरक्षा कमान्डको जिम्मेवारी दिइएको छ । यसले तस्करी नियन्त्रणको त कुरै छाडौँ, स्थानीय भएका नाताले उनीहरू खुलेरै तस्करी नियन्त्रण गर्न सक्दैनन्, उल्टै तस्करसँग मिलेर आफ्नो स्वार्थ पूर्ति गर्न लाग्छन् ।
एसपी घिमिरे पनि मोरङकै स्थानीय हुन् । स्थानीय भएकाले कुन नाका कस्तो छ, कहाँबाट तस्करी गराउन सकिन्छ भन्नेमा उनी जानकार रहेको स्रोतको दाबी छ ।
सामान्यतः सुरक्षा संगठनमा स्थानीयलाई कमान्डको जिम्मा दिइँदैन । उनीहरूलाई कमान्डको जिम्मा दिँदा स्वार्थ बाझिएको बुझिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया