काठमाडौं । नेपालले बालबालिकाको स्वास्थ्यका लागि गम्भीर मानिने रुबेला रोगलाई पूर्ण रूपमा निवारण गर्दै रुबेला मुक्त राष्ट्रको विश्वव्यापी मान्यता पाएको छ ।
यस ऐतिहासिक उपलब्धिलाई औपचारिक रूप दिँदै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र युनिसेफले आज स्वास्थ्य मन्त्रालयमा आयोजित एक विशेष समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई ‘रुबेला निवारण’को आधिकारिक प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस उपलब्धीलाई सम्पूर्ण नेपालीका लागि गौरवको विषय भएको बताए । उनले यो सफलतालाई जोगाइराख्न र यसबाट प्राप्त अनुभवलाई अन्य रोग नियन्त्रणमा लगाउनु अबको प्राथमिकता भएको स्पष्ट पारे ।
‘यो उपलब्धिलाई दिगो राख्नु हाम्रो अबको चुनौती हो। अब हामी खोपले रोक्न सकिने अन्य रोगहरूको उन्मूलनतर्फ लाग्नुपर्छ,’ उनले भने ।
कार्यक्रममा नेपालका लागि विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. राजेश सम्भाजीराव पान्डवले यो सफलतामा पाउनुमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र विशेषगरी गाउँ–गाउँसम्म स्वास्थ्य सेवा पुर्याउने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको योगदान अविस्मरणीय रहेको बताए ।
‘यो हाम्रा स्वास्थ्यकर्मीहरू, विशेषगरी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू र आम नागरिकको अटुट समर्पणको परिणाम हो,’ उनले भने ।
सो अवसरमा बोल्दै स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले रुबेला उन्मूलन महत्त्वपूर्ण उपलब्धि भए पनि अबको मुख्य लक्ष्य दादुरा उन्मूलन गर्नु रहेको स्पष्ट पारे ।
‘दादुरा निकै छिटो फैलिन्छ। यदि हामीले यसको निगरानी प्रणालीलाई बलियो बनाएर यसलाई उन्मूलन गर्न सक्यौँ भने, त्यही प्रणाली अन्य रोगहरूको नियन्त्रणका लागि पनि उदाहरणीय बन्नेछ,’ उनले भने ।
परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार यो सफलता दशकौँको निरन्तर प्रयासपछि मात्र सम्भव भएको हो । सरकारले राष्ट्रिय खोप कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्नु, उच्च खोप कभरेज कायम गर्नु, बलियो निगरानी प्रणाली विकास गर्नु र कुनै पनि ठाउँमा प्रकोप देखिनासाथ द्रुत प्रतिकार्य गर्नु नै यो सफलताको मुख्य कारण रहेको अधिकारीहरूले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया