काठमाडौं । सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दिएका छन् ।
आफ्नो भागको बिगोबराबर धरौटी रकम बुझाउँछु भन्दा पनि जिल्ला अदालत रुपन्देहीले अस्वीकार गरेपछि उनले सोमबार उच्च अदालतमा निवेदन दिएका हुन् । उनको निवेदनमा यही बुधबार पेसी तोकिएको छ ।
रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो । सापकोटाको इजलासले उनको भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएकाले रिहा गर्न नमिल्ने आदेश गरेको थियो । तर यो मुद्दाको प्रकृति विचार गर्दा छिटो छरितो निरूपण हुन उचित देखिएको भन्दै यथाशीघ्र काम कारबाही गर्नू भनी जिल्लाले आदेश गरेको थियो ।
यस्तै यसअघि रुपन्देही अदालतले एक करोड रुपैयाँ धरौटीमा रिहा गरे पनि उच्च अदालत र सर्वोच्च अदालतबाट समेत थुनामै राख्ने आदेश भएकाले पुनः उनलाई थुनामा राख्ने कि नराख्ने भन्ने विषयमा प्रवेश गर्न नमिल्ने भनेको थियो ।
सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोग पत्र दायर गरिएको छ । तर रविले त्यसको चार भागमध्ये आफ्नो भागको एक भाग बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए ।
जिल्लाले थुनामुक्त गर्न अस्वीकार गरेको केही दिनमै उनलाई भैरहवा कारागारबाट ललितपुरको नक्खु कारागार सरुवा गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया