वामदेवका आफ्नै दुःख : एकीकृत समाजवादीमा पनि गर्न थाले गुनासो

लोकपथ
840
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता वामदेव गौतमले पार्टीका नेताहरू काठमाडौं केन्द्रित भएको भन्दै आलोचना गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै वरिष्ठ नेता गौतमले यस्तो बताए ।

पार्टीका सबै शीर्ष नेता राजधानी उपत्यकामा मात्र रहने प्रवृत्तिका कारण पार्टी संगठनलाई कमजोर बनाएको उनको भनाइ छ । उनले पार्टीका सबै सदस्यहरुलाई कुनै न कुनै जिम्मेवारी तोक्नुपर्नेमा जोड दिए । उनले पार्टीमा बसेर पार्टीको नीति र सिद्धान्त पालना नगरेका नेताहरुलाई ‘नक्कली कम्युनिष्ट’को संज्ञा दिए ।

उनले सदस्यले समाजवाद बुझ्ने, समाजवाद निर्माणका लागि आजको परिस्थितिमा आवश्यक कार्य गर्ने र जनतासम्म पुग्ने जिम्मेवारी लिनुपर्ने आवश्यकता औंल्याए ।

पार्टीका शीर्ष नेताहरु जनतामाझ नगएसम्म कार्यकर्तामा उत्साह पैदा नहुने उनको भनाइ छ । आफूमा पार्टीमा आवद्ध भएको दुई महिना पुग्दा समेत पार्टीले जिम्मेवारी नदिएको भन्दै उनले गुनासो समेत गरे ।

उनले भने, ‘नेकपा एकीकृत समाजवादीका सबै नेताहरु काठमाडौं उपत्यकामै हुनुहुन्छ । त्यसो भएपछि तल नेताहरु हुने कुरा भएन । यस्तो मलाई लागेको हुनाले ती नेताहरुलाई साथमा लिएर पार्टीले यस्तो निर्णय गरोस् कि पार्टीको प्रत्येक सदस्यले एउटा न एउटा जिम्मेवारी बहन गर्नुपर्छ । एउटा न एउटा कार्यक्षेत्र उसको हुनुपर्छ । किनभने कम्युनिष्ट पार्टीको सिद्धान्तले त्यही भन्छ । पार्टी सदस्यता प्राप्त गरिसकेपछि त्यो व्यक्तिले प्रतिमहिना सदस्यता शुल्क तिर्नुपर्छ । र कमिटीका अरु सदस्यहरुसँगको जिम्मेवारी नजुध्नेगरी उसको छुट्टै कार्यक्षेत्र हुनुपर्छ । त्यस्तो भएको छैन भने ति सबै नक्कली कम्युनिष्ट हुन् । यहाँ पनि नक्कली कम्युनिष्ट हुनसक्छ । जिम्मेवारी तोकिएको छैन भने तिनीहरु नक्कली कम्युनिष्ट नै हुनसक्छन् । हामी गर्ने काम भनेको सिद्धान्त बुझाउने, समाजवाद बुझाउने, समाजवाद निर्माण कसरी गर्ने ?, आजको परिस्थितिमा के गर्न जरुरी छ ? भन्ने उद्देश्य राखेर प्रत्येक व्यक्तिले काम गरेको हुनुपर्छ, जनतामा गएको हुनुपर्छ । आफ्नो पार्टीको नीति र सिद्धान्तको पालना गरेको हुनुपर्छ । त्यस्तो गर्नुपर्छ भन्ने मनमा लागेको हुनाले मैले सोचेको एकीकृत समाजवादीको नेतैनेता हुनुहुन्छ । तर तल्लो तहमा गएर विरोधीका विचारलाई खण्डन गर्ने, त्यहाँका जनतालाई प्रेरित गर्ने नेताहरु छैनन् कि । सबै ठूला नेताहरु त यहीँ छन् ।’

कम्युनिष्ट पार्टीहरु सिद्धान्तबिना चल्न नसक्ने उल्लेख गर्दै उनले अन्तरपार्टी संघर्ष आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?