वीरगञ्जमा समुदायस्तरमै फैलियो हैजा, अहिलेसम्म ७९ जना सङ्क्रमित फेला

लोकपथ
343
Shares

काठमाडौं ।  वीरगञ्ज महानगर क्षेत्रमा समुदायस्तरमा नै हैजाको सङ्क्रमण फैलिए पनि अहिलेसम्म हैजाको स्रोत भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । गत शुक्रबारदेखि वीरगञ्जका विभिन्न वडामा हैजाका सङ्क्रमित बिरामी भेटिँदै आइरहेका छन् ।

स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगञ्जमा ७९ जना हैजाका सङ्क्रमित बिरामी फेला पारेको जानकारी  दिए । ‘आइतबार बेलुका ८ः०० बजेसम्म हैजाका सङ्क्रमित ७१ जना भेटिएका थिए’, उनले भने, ‘सोमबार बिहानसम्म थप आठ जना हैजाका सङ्क्रमित भेटिएका छन्  ।’

अहिलेसम्म १०३ जना विभिन्न अस्पतालमा भर्ना भएर उपचार भइरहेका छन् । ‘हैजाको मुख्य स्रोत अहिलेसम्म पत्ता लागेको छैन’, उनले भने  ‘विश्व स्वास्थ्य संगठनलगायतका प्रतिनिधिले आइतबारदेखि यहाँका पानीको परीक्षणलगायतका गरिरहेका छन् । सम्भवत् आजसम्म हैजाको स्रोतको पहिचान हुने आशा  राखेका छौँ ।’

नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा उदयनारायण सिंहले आइतबारसम्म अस्पतालमा ३० जना बिरामी भर्ना भएको जानकारी  दिए । ‘नारायणी अस्पतालमा हैजाको उपचारको लागि शैया र जनशक्ति दुवैको अभाव देखिएको छ’, उनले भने, ‘अहिलेसम्म कुनै पनि निकायबाट आवश्यक पर्ने सहयोग आइपुगिसकेको छैन । अहिलेसम्म कागजी प्रक्रियामा सहयोग गर्ने भने तापनि वास्तविक रूपमा आवश्यक पर्ने जनशक्ति र अन्य उपचारका सामग्री आइपुगिसकेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?