काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान सरकारको कार्यकालभित्रै संविधान संशोधनको प्रस्ताव संसदमा ल्याउने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले निर्वाचन प्रणाली संविधान संशोधनसँग जोडिएको र सरकारले संविधान संशोधनको एजेण्डालाई प्राथमिकतामा राखेको बताए ।
पूर्वमन्त्री समेत रहेका सांसद भट्टराईले संशोधन प्रस्ताव लैजाने बारेमा संसदका सबै राजनीतिक दलसँग छलफल हुने पनि स्पष्ट पारे । उनले संविधान संशोधनका लागि संसदको दुई तिहाई बहुमत आवश्यक पर्ने भन्दै नेपाली कांग्रेस र एमालेको समर्थनले मात्रै संविधान संशोधन हुन नसक्ने बताए ।
संविधान संशोधनका एजेण्डालाई नागरिकमा पनि लगेर छलफल गर्ने बताए ।
सचिव भट्टराईले भने, ‘निर्वाचन प्रणाली संविधान संशोधनसँग जोडिएको छ । यो सरकार हामीले बनाइरहँदा संविधान संशोधनको एजेण्डालाई प्राथमिकतामा राखेका छौँ । त्यसको मतलब हामी यो सरकारको कार्यकालभित्र संविधान संशोधनको प्रश्ताव संसदमा ल्याउँछौँ, यति कुरा म ढुक्कसित भन्छु । त्यसमा केके विषय होलान् हामीले छलफल गरौँला । जे विषयमा संशोधन प्रस्ताव लैजाने हो त्यो संसदका सबै राजनीतिक दलसँग बसेर हामी छलफल गर्छौँ । किनभने संसदको दुई तिहाई बहुमत चाहिन्छ । कांग्रेस र एमालेको मात्रै समर्थनले संविधान संशोधन हुँदैन । संसद भित्रको दुई तिहाई बहुमत मात्रै विषयवस्तु होइन । यो आम जनताको विषयवस्तु हो । संविधान संशोधनका एजेण्डालाई आम पब्लिकमा पनि छलफलमा लैजान्छौँ । सकेसम्म सर्वसम्मत हुनेगरी संविधान संशोधनको प्रस्ताव लैजान्छौँ । निर्वाचन प्रणाली पनि छ त्यसको एजेण्डा ।’
सचिव भट्टराईले राजनीतिक दलहरुको अडिट पनि महालेखाले गर्नुपर्ने प्रस्ताव गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया