एमसीसीबारे विप्लवको टिप्पणी : ‘अमेरिकी उपनिवेशवादी दबाबको सामु सरकारले घुँडा टेक्यो’

लोकपथ
91
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे सरकार अमेरिकी उपनिवेशवादी दबाबको सामना गर्न नसकेको आरोप लगाएका छन् ।

आइतबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संसदबाट एमसीसी अनुमोदन गर्नु सरकारको आत्मसमर्पणवादी कदम भएको टिप्पणी गरे । संसदभित्र बहस भइरहेका बेला बाहिर प्रदर्शनकारी र सुरक्षाकर्मीबिच भएको भिडन्तमा सयौँ घाइते भएको घटना स्मरण गर्दै उनले त्यस क्षणलाई स्वाभिमानी नेपालीका लागि पीडादायी भने ।

‘संसद् र सरकारले पास गरे पनि एमसीसीलाई जनताले मान्यता दिएका छैनन् । यो नेपालको संविधान र कानुन अनुरूप छैन, यसमा नीतिगत, कानुनी र व्यवहारिक समस्या छन्, ‘उनले भने ।

महासचिव चन्दले एमसीसी परियोजनाको पारदर्शितामाथि पनि गम्भीर प्रश्न उठाए । गाडी खरिद, कर्मचारीको तलब तथा खर्च अस्वाभाविक रूपमा बढी रहेको उल्लेख गर्दै उनले जनतामा शंका र आक्रोश बढेको बताए ।

उनका अनुसार परियोजना कार्यान्वयनका क्रममा जमिन अधिग्रहण गर्दा उचित मूल्य नदिएको तथा जबरजस्ती गरिएको स्थानीय गुनासोमाथि पनि सरकारले ध्यान नदिँदा असन्तोष अझै चुलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?