रुपन्देही–३ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन : कुन दललाई कुन निर्वाचन चिन्ह ? 

लोकपथ
2.4k
Shares

काठमाडौं । निर्वाचन आयोगले रुपन्देहीको निर्वाचन क्षेत्र नं. ३ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा भाग लिने दलहरूलाई निर्वाचन चिन्ह निर्धारण गरेको छ । 

आगामी कात्तिक १७ गते सोमबारका दिन हुन गइरहेको उपनिर्वाचनमा सहभागी हुनका लागि आयोगमा दर्ता भएका २६ राजनीतिक दललाई आयोगले राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी निर्वाचन चिन्ह निर्धारण गरेको हो ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार, उपनिर्वाचनका लागि दर्ता भएका प्रमुख दल र उनीहरूले प्राप्त गरेका निर्वाचन चिन्हमा एमालेलाई सूर्य, नेपाली कांग्रेसलाई रुख, माओवादी केन्द्र लाई गोलाकारभित्र हँसिया हथौडा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई घण्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई हलो, जनमत पार्टीलाई लाउड स्पिकर, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)लाई कलम, राष्ट्रिय जनमोर्चालाई गिलास, मंगोल नेशनल अर्गनाइजेशनलाई कुखुराको भाले निर्धारण गरिएको छ । 

यसैगरी, नेपालका लागि नेपाली पार्टीलाई गोलाकारभित्र शंख, राष्ट्रिय मुक्ति आन्दोलन, नेपाललाई षट्कोण, जनता समाजवादी पार्टी (जसपा)लाई गोलाकारभित्र मुठ्ठी, जनप्रजातान्त्रिक पार्टी नेपाललाई गैँडा, नेपाल जनमुक्ति पार्टीलाई घर, हाम्रो नेपाली पार्टीलाई लौरो र बहुजन शक्ति पार्टीलाई जग निर्वाचन चिन्ह निर्धारण गरेको जनाइएको छ ।

उपनिर्वाचनका लागि २७ दलको आवेदन परेकोमा निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले आवश्यक कागजात पूरा नगरेको भन्दै उसको आवेदन रुद्ध गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?