काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक बहसलाई व्यक्ति केन्द्रित नभई वैचारिक ढंगबाट अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले वर्तमान समयमा बहस विचारभन्दा बढी व्यक्तिमा केन्द्रित भइरहेको भन्दै त्यसले सही परिणाम नदिने स्पष्ट पारे ।
उनका अनुसार पुस्तान्तरण अपरिहार्य भए पनि विचारसहितको पुस्तान्तरण आजको आवश्यकता हो । उनले राजावादीहरूले पूर्व राजा ज्ञानेन्द्र शाहका नातिलाई अघि सार्दै पुस्तान्तरणको नारा लगाएको उदाहरण दिँदै यस्तो अभ्यासले नयाँ विचार नल्याउने बताए ।
‘बहसलाई वैचारिक ढंगले अघि बढाउनुस्, व्यक्ति केन्द्रित बढी भइरहेको छ,” भट्टराईले भने, ‘पुस्तान्तरण हुनु त पर्छ तर विचारसहितको पुस्तान्तरण हुनुपर्छ । केवल पुस्तान्तरण भन्दैमा नयाँपन आउँदैन ।’
भट्टराईले नेपालजस्तो विविधतायुक्त, आर्थिक–सामाजिक रूपमा पछाडि परेको र भूराजनीतिक चेपुवामा परेको देशलाई छिटो आर्थिक विकास, सामाजिक न्याय र राष्ट्रिय एकताको लागि नयाँ विचारसहितको नयाँ पुस्ता आवश्यक रहेको बताए ।
लिपुलेक विवादको प्रसंगसमेत उल्लेख गर्दै उनले देशलाई एकताबद्ध राख्न र तीव्र आर्थिक विकास गर्न ‘लेफ्ट अफ सेन्टर डेमोक्रेटिक फोर्स’ अपरिहार्य भएको धारणा राखे ।
उनले वैचारिक राजनीतिक शक्तिको विकल्प नरहेको जोड दिँदै नयाँ विचारसहितको पुस्ता उदाउनुपर्नेमा बल दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया