कानुन चोरी हुने संसद्‌मा किन आइएछ जस्तो लाग्छ : जनार्दन शर्मा

लोकपथ
784
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले संसद्को भूमिकाप्रति असन्तुष्टि जनाएका छन् ।

उनले पछिल्लो समयमा संसद्‌मा उपस्थित हुँदा आत्मग्लानी हुने गरेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘म त अन्तरिम कालदेखि संसद्‌मा निरन्तर छु । तर आजभोलि आउँदा त कानुन चोरी हुने संसद्‌मा के बेकार आइएछ जस्तो लाग्छ । कानुन नै चोरी हुन्छ । अलि दिक्क लागेर होला, अलि पुरानो भएर पनि होला ।’

शर्माले संविधानमा लेखिएका प्रावधानहरूको कार्यान्वयन हुन नसकेको गुनासो गर्दै आफूले यसबारे प्रश्न गर्दा अरू नै तर्सिने गरेको बताए ।

‘संविधानमा उपलब्ध प्रगति त गर्‍यौँ तर जनताले उपभोग गर्ने अवस्था सिर्जना गर्न सकिएन । यो प्रश्न म आफैँलाई गर्छु, तर अरू यसले तर्सिन्छन् । आखिर त्यो ठाउँमा हामी नै छौँ, ‘उनले भने ।

उनले देशको कमजोर अर्थतन्त्रलाई प्रमुख चुनौतीका रूपमा उल्लेख गर्दै कम्तीमा १५ दिनसम्म निरन्तर बहस आवश्यक रहेको धारणा पनि राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?