वैदेशिक व्यापार : पहिलो महिनामै १ खर्ब १९ अर्ब घाटा

लोकपथ
91
Shares

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालले १ खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । 

भन्सार विभागका अनुसार साउनमा मात्र १ खर्ब ४३ अर्ब ४ करोड रुपैयाँ बराबरको आयात र २३ अर्ब ९३ करोड २४ लाख बराबरको निर्यात भएको छ । यस अवधिमा मुलुकले १ खर्ब १९ अर्ब १० करोड ८२ लाख बराबरको व्यापार घाटा व्यहोरेको छ ।

गत आर्थिक वर्षको सोही महिनाको तुलनामा यस वर्ष आयात ११ दशमलव ४२ प्रतिशतले र निर्यात ९५ दशमलव ७५ प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ ।

साउन महिनामा भारतसँग सबैभन्दा बढी व्यापार भएको छ । भारतबाट ८३ अर्ब ५३ करोड ९९ लाख बराबरको सामान आयात हुँदा १९ अर्ब ४५ करोड २० लाख बराबरको सामान निर्यात भएको छ । यसरी भारतसँग मात्र ६४ अर्ब आठ करोड ७८ लाख रुपैयाँ घाटा भएको छ ।

त्यस्तै, चीनबाट २७ अर्ब ९९ करोड ६० लाख बराबरको सामान आयात हुँदा निर्यात भने पाँच करोड ४८ लाख रुपैयाँ बराबरमा सीमित रह्यो । यसरी चीनसँग २७ अर्ब ९४ करोड १२ लाख बराबरको घाटा देखिएको छ । जर्मनी, अफगानिस्तान, संयुक्त राज्य अमेरिका, रुस, बेल्जियम र नर्वेसँग भने व्यापार नाफा भएको विभागले जनाएको छ ।

आयातित वस्तुमध्ये पेट्रोलियम पदार्थ अग्रस्थानमा छन् । साउनमा पाँच अर्ब ७७ करोड १४ लाखको पेट्रोल, पाँच अर्ब ८८ करोड ७७ लाखको डिजेल र चार अर्ब ६६ करोड ६४ लाख बराबरको एलपी ग्यास आयात भएको छ । त्यसै गरी १० अर्ब ८० करोड ९५ लाख बराबरको कच्चा सोयाबिन तेल, तीन अर्ब ४१ करोड ९२ लाखको स्मार्टफोन, एक अर्ब ७४ करोड ४८ लाखको मोटरसाइकल, तीन अर्ब सात करोड बराबरको फलामजन्य वस्तु र एक अर्ब ५२ करोड ६३ लाख बराबरको सुन आयात भएको छ ।

निर्यातमा भने भटमासको तेल पहिलो स्थानमा रहेको छ । साउनमा मात्र १० अर्ब ६९ करोड ५८ लाख बराबरको भटमासको तेल निर्यात भएको विभागको तथ्यांकले देखाउँछ ।  त्यस्तै,  फलफुलको जुस, धागो, गलैँचा र अलैँचीलगायत वस्तु पनि निर्यात भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?