काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन आज तीनदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेकी छन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन् ।
उपराष्ट्रपति सुआनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वागत गरे ।
सो अवसरमा नेपाल सरकारका विशिष्ट कर्मचारी, सुरक्षा निकायका प्रमुख तथा अन्य विशिष्ट व्यक्तित्व उपस्थित थिए । उपराष्ट्रपतिले नेपाली सेनाद्वारा प्रदान गरिएको गार्ड अफ अनरको निरीक्षण पनि गरेकी थिइन्।
भ्रमणको क्रममा आजै उपराष्ट्रपति सुआनसँग परराष्ट्रमन्त्री डा.राणाले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनले भदौ ९ गतेसम्म नेपाल भ्रमण गर्ने बताइएको छ ।
यो नेपालमा भियतनामको पहिलो उच्चस्तरीय भ्रमण हो । भ्रमणका क्रममा भदौ ८ गते काठमाडौंमा प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय वार्ता हुने कार्यक्रम रहेको छ । साथै, उपराष्ट्रपतिले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ।
नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठ यस वर्ष परेको भएकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ। उपराष्ट्रपति सुआन भदौ ९ गते स्वदेश फर्कने तालिका रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया