रुसले शान्ति वार्ता रोक्न ‘जति सकिन्छ त्यति प्रयास’ गरिरहेको छ : जेलेन्स्की

लोकपथ
595
Shares

कीएभ । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसले शान्ति वार्ता रोक्न ‘जति सकिन्छ त्यति प्रयास गरिरहेको’ आरोप लगाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच भेट गराउन खोजिरहेका छन् । तर ट्रम्पले शुक्रबार भने, ‘यो तेल र भिनेगरझैँ हो‘ उनीहरू एक–आपसमा बिल्कुलै मिल्दैनन् ।’

रुसका परराष्ट्रमन्त्री सेर्गेई लाव्रोभले भने पुटिन वार्ताका लागि तयार रहेको तर ‘शिखर बैठकको कार्यसूची नै तयार नभएको’ बताएका छन् । उनले जेलेन्स्कीमाथि ‘हरेक कुरा अस्वीकार गर्ने’ आरोप पनि लगाएका छन् ।

गत साताभर तीव्र कूटनीतिक गतिविधि भएका थिए । ट्रम्पले पहिलो पटक अलास्कामा पुटिनसँग भेटे भने त्यसपछि वासिङ्टनमा युरोपेली नेताहरूसहित जेलेन्स्कीलाई भेटेका थिए । ट्रम्पले आफूले रोक्न खोजेका सबैभन्दा कठिनमध्ये यो युद्ध एक भएको बताएका छन् ।

सोमबार पुटिनसँगको टेलिफोन वार्तापछि ट्रम्पले पुटिन–जेलेन्स्की शिखर बैठकको तयारी थालिएको र त्यसमा आफूपछि सहभागी हुने बताएका थिए ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले उक्त पहललाई समर्थन गरे पनि कुनै सम्भावित शान्ति सम्झौता भएपछिको सुरक्षाका लागि पश्चिमी मित्रराष्ट्रहरूबाट ठोस सुरक्षा प्रत्याभूति माग गरेका छन् ।

यसैबिच, नाटोका महासचिव मार्क रुटेले कीएभ भ्रमणका क्रममा भने, ‘ट्रम्पले गतिरोध तोड्ने लक्ष्य लिएको छ । अमेरिका र युरोपसँग मिलेर युक्रेनलाई भविष्यमा पुटिनले फेरि कहिल्यै आक्रमण नगर्ने खालको सुरक्षा प्रत्याभूति दिन काम गरिरहेका छौँ ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?