दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको सहमति बिना भारत र चीनले नेपाली भूमि प्रयोग गर्ने प्रयास अनुचित हुने बताएका छन् ।
शनिबार घोराहीमा प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको अविभाज्य हिस्सा भएको उल्लेख गर्दै कुनै पनि समझदारी नेपालकै सहभागिता बिना मान्य नहुने बताए ।
उनले भने, ‘दुई छिमेकी राष्ट्रहरूले नेपालकै सहमति बिना लिम्पियाधुरा, लिपुलेक, कालापानी प्रयोग गर्न खोजेका छन् । नेपालले कूटनीतिक नियोगमार्फत असहमति जनाइसकेको छ । सहमति बिना गरिने कुनै पनि कदम अनुचित हुन्छ ।’
सुगौली सन्धि (सन् १८१६) अनुसारको सीमा नै वास्तविक सीमा भएको दाबी गर्दै पोखरेलले नेपालले राखेको अडान तथ्य र प्रमाणमा आधारित रहेको प्रष्ट पारे ।
सरकारको उपलब्धिबारे टिप्पणी गर्दै उनले अघिल्ला अवस्थासँग तुलना गर्दा हालको सरकार सफल देखिएको दाबी गरे ।
‘राजस्व वृद्धि भएको छ, खर्च गर्ने क्षमता मजबुत भएको छ, लगानीमैत्री वातावरण बनेको छ, निजी क्षेत्र उत्साहित छ,’ उनले भने, ‘विकास निर्माणमा गति आएको छ, रोकिएका आयोजनाहरू अघि बढेका छन्, संघीयता कार्यान्वयनसँग सम्बन्धित कानुन निर्माण पनि अघि बढेका छन् ।’
यसैबिच, पोखरेलले एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २१ देखि २३ गतेसम्म हुने जानकारी दिए । महाधिवेशनमा राजनीतिक, संगठनात्मक तथा विधान संशोधनसहित तीन प्रस्तावमाथि छलफल हुने र साढे ६ लाख सदस्य त्यसमा सहभागी हुने उनले बताए ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबारे प्रश्नमा उनले सक्रिय राजनीतिमा फर्किनु उचित नहुने तर सामाजिक जीवनका क्रियाकलापमा सक्रिय हुन रोक लगाउन नहुने बताए ।
‘पूर्व राष्ट्रपति जस्तो सम्मानित व्यक्तिलाई बन्धक बनाउनुहुँदैन । सामाजिक रूपमा सक्रिय हुन कुनै रोकतोक छैन,’ उनले स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया