काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकार विकासका काममा निरन्तर अघि बढिरहेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले कांग्रेस र नेकपा एमालेबिच भएको सात बुँदे सहमतिअनुसार नै सरकार अघि बढिरहेको स्पष्ट पारे । उनले सरकार तीव्र गतिमा अघि बढ्न नसके पनि निरन्तर काम गरिरहेको र सुधारका काम विभिन्न क्षेत्रमा सुरु भइसकेको बताए ।
उनका अनुसार मुलुकको आर्थिक उन्नति र प्रगतिका लागि आवश्यक ऐन तथा कानुन संशोधनमार्फत वैदेशिक लगानी आकर्षित गर्ने कार्य भइरहेको छ । लगानीकर्ताले नेपालमा कमाएको सम्पत्ति आईटी सेक्टरमार्फत विश्वभर लगानी गर्न सक्ने वातावरण बनाउन सुधार अघि बढाइएको उनले जानकारी दिए ।
‘श्रद्धेय सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीजी अहिले सम्माननीय प्रधानमन्त्री हुनुहुन्छ । हाम्रो पार्टीसहितको सरकारले सात बुँदे सहमतिको जगमा काम अघि बढाएको छ । सुधारका कुराहरू पनि अघि बढाएका छौँ,’ खड्काले भने, ‘कामको गति अपेक्षित वेगमा नभए पनि निरन्तर अघि बढिरहेको छ । अझै सरकारलाई चम्किलो बनाउनुपर्ने जरुरी छ । संघ, प्रदेश र स्थानीय तहमा हामी पहिलो पार्टी भएकाले हाम्रो दायित्व अझ बढी छ ।’
उनले कांग्रेस एकताबद्ध भएर जाने हो भने २०८४ को निर्वाचनमा कुनै गठबन्धन नगरी नै पार्टीले एक्लै बहुमत ल्याउन सक्ने दाबी पनि गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया