काठमाडौं । नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहले पदबाट राजीनामा दिएका छन् ।
वन मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि सिंहले शुक्रबार पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै केन्द्रीय कार्यालय सानेपामा राजीनामा बुझाएका हुन् ।
राजीनामा पत्रमा सिंहले दुई कार्यकाल उपसभापति भएर काम गरेको र २०७८ साल फागुन २९ गतेदेखि सभापतिको जिम्मेवारी सम्हालिरहेको उल्लेख गरेका छन् । तर पछिल्लो अदालतको फैसलापछि आफूले सभापतिको पदमा निरन्तरता दिन नसक्ने भन्दै पदत्याग गरेको उल्लेख गरेका छन् ।
पत्रमा उनले लेखेका छन्, ‘माथि लगाइएको मुद्दामा अदालतले गरेको निर्णय मान्न मेरो कर्तव्य हो । यद्यपि सो निर्णय अन्यायपूर्ण भएको ठानेर म कानुनी तथा न्यायिक लडाइँ जारी राख्नेछु । तर नेपालको प्रचलित कानुन र पार्टी विधानअनुसार सभापतिको जिम्मेवारीमा निरन्तर रहने अवस्था छैन । त्यसैले पार्टीको बृहत्तर हितलाई मध्यनजर गर्दै राजीनामा दिएको जानकारी गराउँछु ।’
सिंहले २०७६ सालमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको हस्ताक्षरमार्फत कांग्रेसको सदस्यता लिएको समेत पत्रमा उल्लेख गरेका छन् ।
अदालतले दोषी ठहर गरे पनि सिंहले तत्काल राजीनामा नदिँदा पार्टीभित्रै आलोचना हुँदै आएको थियो । हालै मात्र नेता डा.शेखर कोइरालाले केन्द्रीय समितिको बैठकमा पनि यस विषयमा प्रश्न उठाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया